Tue. Dec 24th, 2024

३१ औँ ग्रीष्मकालीन विश्व युनिभर्सियाड भव्य रुपमा समापन, आयोजक देश चीनले १ सय ३ वटा स्वर्ण, ४० कास्य, ३५ रजत गरि कुल १ सय ७८ वटा पदक जित्दै प्रथम स्थानमा

छन्तु, चीन, २०८० साउन २३ गते मंगलबार। ३१ औँ ग्रीष्मकालीन विश्व युनिभर्सियाड भव्य रुपमा समापन भएको छ । चीनको सछुवान प्रान्तको सदरमुकाम छन्तुमा जारी ३१ औँ ग्रीष्मकालीन विश्व युनिभर्सियाड आज साँझ विविध कार्यक्रमहरुको आयोजना गर्दै भब्य रुपमा समापन भएको हो ।

जुलाई २८ तारिखदेखि अगष्ट ८ सम्म छन्तु शहरमा आयोजना भएको सो भव्य प्रतियोगितामा १ सय १३ वटा देश र क्षेत्रका ६ हजार ५ सय जनाभन्दा बढी खेलाडीहरुले विभिन्न खेलकुदका विधामा भाग लिएका थिए ।

फिसु गेमका नामले समेत परिचित ग्रीष्मकालीन विश्व युनिभर्सियाडमा १८ वटा ठूला खेल र २ सय ६९ वटा साना प्रतिस्पर्धाहरु भएका थिए । स्वीमिङ, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, मार्सल आर्ट, लयबद्ध जिम्न्यास्टिक, जुडो र अन्य रोमाञ्चक खेलहरु रहेको प्रतियोगितामा चीनले सबैभन्दा बढी स्वर्ण पदक जित्न सफल भएको छ ।

 

पछिल्लो पदक तालिका अनुसार चीनले १ सय ३ वटा स्वर्ण, ४० वटा कास्य, ३५ वटा रजत गरि कुल १ सय ७८ वटा पदक जित्न सफल हुँदा जापान २१ स्वर्ण, २९ कास्य र ४३ वटा रजत गरि ९३ वटा पदक जित्दै दोश्रो बनेको छ । दक्षिण कोरिया १७ स्वर्णसहित कुल ५८ वटा पदक जित्दै तेस्रो, इटाली १७ स्वर्णसहित कुल ५६ वटा पदक जित्दै चौथो, पोल्याण्ड १५ स्वर्णसहित कुल ४३ वटा पदक जितेर पाँचौ भएको छ ।

पदक बिजेता अन्य देशहरुमा टर्की छैठौ, भारत सातौँ, चाइनिज ताइपेइ आँठौ, लुथिनिया नवौँ र फ्रान्स दशौं भएका छन् । ७ वटा खेलका लागि गएको नेपाली टोली भने पदकविहीन बनेको छ ।

सन् २०२१ मा हुनु पर्ने यो प्रतियोगिता कोरोना महामारीका कारण रोकिएको थियो । यो खेलकूद सम्पन्न गर्न चीनले झण्डै २० हजार श्वयंसेवक परिचालन गरेको छ । खेलाडी र पत्रकारहरुका लागि विशेष व्यवस्था गरिएको र त्यसले आफुहरुलाई अत्यन्त सहज वातावरण सृजना गरिदिएको रे टेलिभिजनबाट समाचार सम्प्रेषणका लागि छन्तु पुग्नु भएका पत्रकार प्रकाशबाबु पौडेलले बताउनु भयो ।

Facebook Comments