Mon. Apr 29th, 2024

वर्ल्ड युनिभरसिटी गेम आज भव्य समारोहबीच सुरु हुँदै

- रमेश हतुवाली/FISU 31th Game 2021, Chengdu

छन्तु, चीन, २०८० साउन १२ गते शुक्रबार । सछुवान प्रान्तको राजधानी छन्तु शहरमा आज भव्य समारोहबीच ३१ औं फिसु वर्ल्र्ड युनिभर्सिटी गेम, २०२१ सुरु हुँदै छ ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विश्वभरिका विश्व विद्यालयहरुको सहभागिता रहने वर्ल्ड युनिभरसिटी गेम (फिसु गेम) को आज साँझ ८ बजे भव्य समारोहबीच शुभारम्भ गर्दै हुनुहुन्छ । सो समारोहमा सरिक हुन राष्ट्राध्यक्ष सी बुधबार छन्तु आइसक्नु भएको छ । फिसु गेम मूल आयोजक समिति अन्तरगतको मिडिया सेन्टरले उद्घाटन समारोहका लागि सम्पूर्ण तयारी पुरा भएको बताएको छ । सेन्टरले यस खेलकूदमा सहभागी हुन विश्वका १ सय ५० देशका हजारौं खेलाडीहरु छन्तु आइसकेको जानकारी गराएको छ ।

हिजो बिहीबार बिहान सबैरैदेखि मध्यरातसम्म वर्षा भए पनि आज छन्तु शहरको मौसम बिहानैदेखि खुलेको छ । बिहानको घमाइलोमा मानिसहरु आफ्नो दैनिकी सञ्चालनका लागि गन्तब्यतिर गइरहेको दृश्य जताततै देख्न पाइन्छ । खेलकुदका पदाधिकारी, व्यवस्थापक, स्वयंसेवक, सुरक्षाकर्मीको व्यस्तता निक्कै बढेको देखिन्छ ।

यस खेलकूदलाई भव्य, सभ्य र शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्न छन्तु शहरको सुरक्षा व्यवस्था कडा बनाइएको छ भने विमानस्थल, होटल र स्टेडियमहरुमा प्रवेश गर्दा विभिन्न सुरक्षा जाँच गर्ने व्यवस्था मिलाइएको छ । यस खेलकूदलाई मध्यनजर गर्दै छन्तु शहरका मुख्य मुख्य क्षेत्रहरुमा निजी सवारी साधनहरुको सञ्चालनलाई खेलकूद अवधिभरका लागि रोकिएको छ भने सार्वजनिक सवारी साधनहरुलाई महत्त्वका साथ परिचालन गरिएको छ ।

विश्वका विभिन्न देशका सञ्चारमाध्यमका प्रतिनिधिहरु पनि सो खेलकूदको प्रत्यक्ष समाचार संकलनका लागि छन्तु पुग्ने क्रम जारी छ । खेलकूद प्रतियोगितालाई मध्यनजर गर्दै छन्तु शहरलाई बेहुली जसरी सिंगारिएको छ । विमानस्थलदेखि होटल र होटलदेखि स्टेडियमसम्मका सडकहरुमा विभिन्न नारा लेखिएका व्यानरहरुले शहर झकिझकाउन पारिएको छ ।

शहरका प्रायः सबै सडकहरुलाई बगैंचामा परिणत गरिएको छ भने सुव्यवस्थित वृक्षरोपणले शहरको सौन्दर्य बढाएको छ भने पर्यावरणलाई अझ स्वच्छ बनाउन थप मद्दत गरेको छ ।

Facebook Comments