Sat. May 18th, 2024

बाँकेमा एक सय ६० उद्योग बन्द

राँझा, २०८० साउन ६ गते शनिबार । बाँकेमा गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका छन् ।

कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका एक सय ६० उद्योग खारेजीमा परेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेशबहादुर बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन् । उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी/व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका उहाँको भनाइ छ ।

कोभिड-१९ को असर, बैंकको ब्याज वृद्धि हुनु, आर्थिक तरलतालगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुनेक्रम बढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यसरी व्यवसाय बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली भएका छन् । कैयौँ उद्योगी/व्यवसायी नेपालगञ्जबाट विस्थापित भएको उहाँको भनाइ छ ।

जिल्लामा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या पनि गत आर्थिक वर्षमा घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा एक हजार सात सय १२ नयाँ उद्योग दर्ता भएकामा आर्थिक वर्ष २०७९/८० मा जम्मा आठ सय ७६ मात्र नयाँ उद्योग दर्ता भएका निमित्त प्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आवमा कृषि तथा वनजन्यतर्फ तीन सय ६५, उत्पादनमूलक एक सय ४०, पर्यटन सम्बन्धी एक सय ३२ र सेवामूलक दुई सय ३९ गरी कूल आठ सय ७६ उद्योग दर्ता भएका छन् ।

गत आवमा तीन सय १४ उद्योग नवीकरण भएका बुढाथोकीले बताउनुभयो । नयाँ उद्योग दर्ता तथा नवीकरणबापत रू ८५ लाख ३० हजार एकसय ५० राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments