Sun. May 19th, 2024

इराकद्वारा स्विडेनका राजदूत निष्कासित

बग्दाद । स्वीडेनको राजधानी स्टकहोममा कुरान जलाइएको विरोधमा इराकले स्विडेनी राजदूतलाई निष्कासन गरेको छ । कुरान जलाइएको विरोधमा बिहीबार बग्दादमा विशाल प्रदर्शन भएको थियो ।

मध्य बगदादमा रहेको स्विडेनको दूतावासमा प्रदर्शनकारीहरूले आक्रमण गरी आगोसमेत लगाएका थिए । सामाजिक सञ्जाल सार्वजनिक भएका भिडियोमा स्विडेनको दूतावासभित्र प्रदर्शनकारीहरूको ठूलो भीड लागेको र त्यहाँबाट धुवाँको मुस्लो निस्किएको देखिएको थियो ।

दक्षिणी इराकको नासिरियामा रहेको अल जजिराका महमूद अब्देलवाहेदका अनुसार बिहीबार बिहानै दूतावासमा प्रदर्शनकारीहरूले प्रभावशाली इराकी शिया धार्मिक र राजनीतिक नेता मुक्तादा अल–सद्रलाई चित्रण गर्ने झण्डा फहराएका थिए । अल-सद्रका समर्थकहरूले बिहीबार स्टकहोममा इराकी दूतावास अगाडि कुरान जलाउने दोस्रो योजनाको विरोधमा दूतावास जलाउनआह्वान गरेका थिए ।

इराक सरकारले बिहीबार नै स्टकहोमबाट आफ्ना कूटनीतिज्ञलाई फिर्ता बोलाएको घोषणा गरेको थियो । प्रधानमन्त्री मोहम्मद शिया अलसुदानीले स्वीडेनबाट आफ्नो राष्ट्रका कार्यवाहक राजदूतलाई कुरान जलाएको विरोधमा फिर्ता बोलाएको र स्वीडेनको टेलिकम कर्पोरेशन एरिक्सनको इराकमा व्यवसाय सञ्चालन गर्ने अनुमति खारेज गरेको अल जजीराले जनाएको छ ।

यसैबीच, स्विडेनको विदेश मन्त्रालयले दूतावास घटनाको निन्दा गर्दै इराकी अधिकारीहरूलाई कूटनीतिक नियोग र कूटनीतिज्ञहरूको सुरक्षामा ध्यान दिन अनुरोध गरेको छ । साथै मन्त्रालयले बग्दादस्थित दूतावासका सबै कर्मचारीहरू सुरक्षित रहेका बताएको छ ।

साउदी अरबले पनि कुरानको अपमान भएकामा त्यसको निन्दा गर्दै रियादस्थित स्विडेनका कूटनीतिज्ञलाई विदेश मन्त्रालयमा बोलाएर विरोधपत्र हस्तान्तरण गरेको छ । मुसलमानहरूको पवित्र तीर्थ भएको मुसलमान बहुल खाडी राष्ट्रले अपमानजक गतिविधि रोक्नेतर्फ गम्भीर भएर लाग्न स्विडेन सरकारलाई अनुरोध गरेको छ । एएनआई

Facebook Comments