Fri. May 17th, 2024

मत्स्यनारायण मन्दिरमा एक महिने मेला

भक्तपुर, २०८० साउन ३ गते बुधबार । पुरुषोत्तम महिना (मलमास) सुरु भएसँगै चाँगुनारायण नगरपालिका-५ छालिङ गोकुल गाउँस्थित मत्स्यनारायण मन्दिरमा एक महिने ‘मत्स्यनारायण मेला’ लागेको छ ।

तीन वर्षको अन्तरालमा पर्ने पुरुषोत्तम महिनामा मत्स्यनारायणको उक्त मेला सुरु भएको मन्दिरका संरक्षक गोकर्ण पुरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो तीनसय वर्ष पुरानो मन्दिर हो, दुई पिपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुनःनिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० वर्ष पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरिनै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।”

स-साना तीन नदीको सङ्गमस्थलमा रहेको उक्त मन्दिरलाई त्रिवेणी धामका रुपमा समेत लिइने गरिन्छ । मन्दिर संरक्षणसँगै ६४ शिव लिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण बर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको सो मन्दिर परिसरमा मलमासमा दर्शनार्थीको घुइँचो लाग्छ । यहाँको कुण्डमा स्नान गरेमा छालालगायतका विभिन्न रोग नाश हुने विश्वास गरिँदै आएको छ ।

एक महिनाभरिनै लाग्ने मेलाका लागि सहजरुपमा दर्शन एवं पूजा गर्ने व्यवस्था गरिएको जानकारी दिँदै पुरीले मेलाबाहेक अन्य महिनामा पनि आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको बताउनुभयो । यस मन्दिरमा तीज र जनैपूर्णिमामा पनि मेला लाग्छ । बाला चर्तुदशीमा महाद्वीप बाल्न र ६४ शिवलिङ्ग परिक्रमा गेर सदबिज छर्ने गरिन्छ । मलमास अवधिभर सो मन्दिरमा नारायणको पूजा/पुरुषोत्तम महात्म्य वाचन गरिनेछ । मन्दिरसम्मको सडक कालोपत्र गर्न स्थानीयवासीले माग गरेका छन् ।
रासस

Facebook Comments