Mon. Dec 23rd, 2024

शेयर बजार आज पनि सामान्य अंकले वृद्धि

भिओके समाचार/काठमाण्डू, २०८० साउन ३ गते बुधबार । आज पनि शेयर बजार बढेरै बन्द भएको छ । साताको पहिलो कारोबार दिनदेखि बढिरहेको शेयर बजारले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो । शेयर बजार मापक नेप्से परिसूचक आज ११.१७ अंक बढेर २१६५.२४ विन्दुमा पुगेको छ । आज नेप्सेको वृद्धिलाई बैंकिङ्ग र व्यापार उपसमूहको परिसूचकले टेवा दिएको छ ।

१३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.८३ प्रतिशत बढेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक २.३१ प्रतिशत बढेको छ । यी दुई उपसमूहका परिसूचक उच्च दरमा बढेसँगै नेप्से सकारात्मक भई बन्द भएको हो । नेप्से बढे पनि आज कारोबार रकम भने सामान्य घटेको छ । अघिल्लो दिन साढे ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज २६० स्टकको ५१ हाजर ४४५ पटकको कारोबारमा ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार रुपैयाँ बराबरको ८६ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

पछिल्ला दुई कारोबार दिनदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भएको बिपिडब्लु लघुवित्तको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उक्त कम्पनीको शेयरमूल्य १३५ रुपैयाँ ५० पैसा बढेर १ हजार ४९० रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी विशाल बजार कम्पनीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी वृद्धि भएको छ भने युनाइटेड अजोड इन्स्योरेन्स र बोटलर्स नेपाल तराईको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा आज युनाइटेड अजोड इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज २३ करोड ५७ लाख ४५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, एनआईसी एशियाको करिब १५ करोडको शेयर कारोबार भएको छ ।

Facebook Comments