Sun. May 5th, 2024

पोखरामा ट्रेकिङ गाइड तालिम सुरु   

गण्डकी, २०८० असार २३ गते शनिबार । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवं नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (नाथम)को प्राविधिक सहकार्यमा पाँचहप्ते ट्रेकिङ गाइड तालिम पोखरामा सुरु भएको छ ।

पदयात्रा पर्यटनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यका तालिम सुरु गरिएको हो । आवश्यक मापदण्ड पूरा गरी अन्तर्वार्तामार्फत छनोट भएका तीन सय प्रशिक्षार्थी तालिममा सहभागी छन् ।

लेकसाइडस्थित तालवाराही माविमा विभिन्न छवटा सेक्सनमा विभाजन गरी तालिम दिइने संयोजक गोपालकृष्ण सङ्ग्रौलाले जानकारी दिनुभयो । विगत ३० वषयता विभिन्न समयमा गरी करिब एक हजार नौ सयलाई तालिम प्रदान गरिसकेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताउनुुभयो ।

देशको राजनीतिक उतारचढाव, प्राकृतिक प्रकोपसँगै कोरोना महामारीलगायतका कारण पर्यटन क्षेत्रका मजदुर पलायन हुँदै गएका अवस्थामा हुन तालिम महत्त्वपूर्ण हुनेमा उहाँले विश्वास व्यक्त गर्नुुभयो । तालिमले दक्ष जनशक्ति उत्पादन मात्र नभई व्यवसाय गर्न इच्छुकका लागि पनि यो पहिलो खुड्किलो भएको उहाँले बताउनुुभयो ।

राससका अनुसार नाथमका प्राचार्य रामकैलाश विच्छाले टानसँगको सहकार्यमा सुरु गरिएको तालिम महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै सहभागीलाई अधिकतम ज्ञान, सीप हासिल गर्न आग्रह गर्नुभयो । तालिममा सहभागीलाई नाथमका निर्देशक तथा तालिम संयोजक रतन साउदले अभिमुखीकरण गराउनुुभएको थियो ।

पोखरा आसपासका क्षेत्रमा विश्वकै १० उत्कृष्टमध्येको अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, धवलागिरि चक्रीय पदमार्ग, सहस्राब्दी (मिलेनियम) पदमार्ग, पुनहिललगायतमा पछिल्लो समयमा पदयात्रा पर्यटनतर्फ आकर्षण बढिरहेको छ ।

Facebook Comments