Fri. May 10th, 2024

‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ ,भन्ने नाराका साथ धान दिवस मानाइँदै

- आज असार पन्ध्र, २०औँ राष्ट्रिय धान दिवस

काठमाण्डू, २०८० असार १५ गते शुक्रबार । आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइरहेका हुन् । दिवसका अवसरमा देशभर रोपाइँलगायतका कार्यक्रम आयोजना गरिएको छ ।

कृषि विभागको आयोजनामा खुमलटारस्थित कृषि अनुसन्धान परिसद् परिसरमा रोपाइँ महोत्सव आयोजना गरिएको छ । उक्त कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाललगायत उच्च सरकारी अधिकारीको सहभागिता रहनेछ ।

यस वर्ष जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि मूल नाराका साथ विभिन्न सरोकारवालासँगको समन्वय तथा सहकार्यमा ‘२०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८०’ देशभर विभिन्न तह र स्थानमा मनाइँदै छ ।

यसै अवसरमा उत्पादन र उत्पादकत्व दिगो तथा उच्च कायम गर्नका लागि धान बालीमा जलवायु अनुकूलित कृषकमैत्री प्रविधिको सम्बन्धमा अधिकतम् प्रचार-प्रसार गरी राष्ट्रिय कार्यक्रमलाई सफल कृषि विभागका महानिर्देशक एवं रोपाइँ महोत्सव, मूल आयोजक समितिका अध्यक्ष डा. हरिबहादुर केसीले विज्ञप्तिमार्फत सबैमा अनुरोध गर्नुभएको छ ।

धान हरेक नेपालीको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनसँग गाँसिएको छ । जन्मेदेखि मृत्युसम्मका कर्ममा तथा वर्षभरि मनाइने विभिन्न चाडपर्वमा समेत धानको प्रयोग अपरिहार्य हुने भएकाले धान हाम्रो खाद्यान्नमात्र नभएर संस्कृतिको धरोहर पनि हो ।

कृषि विभागका अनुसार समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थानमा जुम्लाको छुमचौरमा तीन हजार ५० मिटर उचाइसम्म धानको खेती गरिन्छ । मुलुकको कुल ग्राहस्थ्य उत्पादनमा करिब २४ दशमलव एक प्रतिशत कृषिको योगदान रहेकामा कृषि क्षेत्रका ग्राहस्थ्य उत्पादनमा धानको १५ प्रतिशत योगदान रहेको छ । यस तथ्यले पोषण सुरक्षामा धानको उल्लेखनीय महत्व दर्शाउँछ ।

राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउनसमेत धानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । आर्थिक वर्ष २०६१/६२ देखि असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन थालिएको हो । यसै सन्दर्भमा देशको आवश्यकता र प्राथमिकताका आधारमा विभिन्न नारा तय गर्ने सिलसिलामा यस वर्ष धानमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने कुरालाई मध्यनजर गरी राष्ट्रिय धान दिवसको नारा तय गरिएको छ ।

विभागको विवरणमा आ.व. २०७९/८० मा १४ लाख ४७ हजार हेक्टर क्षेत्रफलमा धानखेती भई ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल शून्य दशमलव १९ प्रतिशतले घटेको भए पनि उत्पादन भने छ दशमलव नौ प्रतिशतले वृद्धि भएको छ ।

जलवायुमैत्री कृषि प्रविधिले जलवायु परिवर्तनका प्रभावसँग अनुकूलन गरी हरितगृह ग्यासको उत्सर्जनलाई कम गर्ने, धान उत्पादनमा वृद्धि गर्ने तथा खाद्य सुरक्षालाई सुनिश्चित गर्दछ । जलवायु अनुकूलन भन्नाले बदलिँदो वातावरणसँग मिल्दो हुने गरी प्रविधि विकास गर्ने भन्ने बुझिन्छ ।

वि.सं. २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा पनि यो दिवसका रूपमा मनाउन सुरु गरिएको हो । मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खानेजस्ता नामले पनि मनाउने चलन छ । असारे भाकामा लोकदोहोरी गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन रहेको छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेसा–व्यवसायमा लागेका नेपालीले आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

Facebook Comments