Sun. Nov 24th, 2024

चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्दछ : उपराष्ट्रपति   

त्रिवेणी, काठमाण्डू, २०८० असार २ गते शनिबार । उपराष्ट्रपति रामसहायप्रसाद यादवले चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । नवलपरासी पूर्वको कावासोतीमा वृक्षरोपण कार्यक्रमको उद्घाटन कार्यक्रममा उहाँले अत्यन्तै संवेदनशील पर्यावरणीय एवं वातावरणीय अवस्था रहेको चुरे क्षेत्रलाई संरक्षण र उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

उहाँले चुरेको विनाशले पानीको स्रोतमा कमी हुँदा तराई-मधेस सुक्खा र मरुभूमिकरणमा परिणत हुनसक्नेतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तराई-मधेसमा पानीको स्रोत मानिने चुरे, भावर र तराई मधेस परस्पर अन्योयाश्रित छ । यसको विनाशले पानीको स्रोतमा कमी हुँदा नेपालको अन्न भण्डारको रूपमा रहेको मधेस सुक्खा र मरभूमिकरणमा परिणत हुनसक्छ ।”

राससका अनुसार जलवायु परिवर्तन र प्राकृतिक स्रोतको विनाशले चुरे क्षेत्रको संरक्षणमा चुनौती थपिएको भन्दै उपराष्ट्रपति यादवले यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । राष्ट्रपति चुरे तराई-मधेस संरक्षण विकास समितिको आयोजना, वन तथा पर्यावरण सुरक्षा निर्देशनालय हात्तीखोरको समन्वयमा नवौँ चुरे संरक्षण दिवसका अवसरमा आज कावासोतीमा वृक्षरोपण गरिएको हो ।

कावासोती नगरपालिका-६ स्थित विष्णुनगर सामुदायिक वनको आठ हेक्टर क्षेत्रफलमा १० हजार बिरुवा रोप्ने योजना रहेको वन तथा पर्यावरण सुरक्षा निर्देशनालय हात्तीखोरका प्रमुख सेनानी दीपेन्द्र बोगटीले बताउनुभयो । आज वृक्षरोपणको उद्घाटन गरिएको मौसमको अनुकूलता हेरी चाँडै यस क्षेत्रमा १० हजार बिरुवा लगाइने उहाँले बताउनुभयो । विभिन्न प्रजातिका फलफूलसहितका बिरुवा रोपिने उहाँले बताउनुभयो ।

Facebook Comments