Wed. May 1st, 2024

वीरगञ्ज महानगरका १० स्थानमा फ्री वाइफाई सेवा सुरु   

वीरगञ्ज, २०८० असार १ गते शुक्रबार । वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका विभिन्न सार्वजनिकस्थल एवं भीडभाड हुने सरकारी कार्यालय क्षेत्रमा निःशुल्क इन्टरनेट वाइफाई (फ्री वाईफाई) सेवा सुरु गरेको छ । पहिलो चरणमा महानगरका विभिन्न १० स्थानमा फ्रि वाईफाई सेवा उपलब्ध गराइएको हो ।

महानगरले इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कसँगको सहकार्यमा घण्टाघर चोक, माइस्थान चोक, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, यातायात, नारायणी अस्पताल, विद्युत प्राधिकरण, भन्सार कार्यालय र महानगर कार्यालय क्षेत्रमा फ्री वाईफाई सेवा सुरु गरेको छ ।

महानगरप्रमुख राजेशमान सिंहले आज औपचारिक कार्यक्रम गरी फ्रि वाईफाई सेवाको सुरुआत गर्नुभयो । उहाँले महानगरवासीलाई समयानुकूल प्रविधिमैत्री सेवा विस्तार गरी वीरगञ्जलाई डिजिटल सहरका रूपमा अघि बढाउन यस्तो सेवा सुरु गरिएको बताउनुभयो ।

महानगरलाई आईटी हब बनाउने आफ्नो घोषित नीति नै रहेकाले त्यसलाई कार्यान्वयन गर्न आफू लागि परेको पनि उहाँले बताउनुभयो ।

हाललाई हरेक स्थानमा दुई एमबीपीएस क्षमताको इन्टरनेट सुरु गरिएको र प्रयोगकर्ताको चापको आधारमा यसलाई बढाउँदै लगिने महानगरले जनाएको छ ।

आफूहरुले चुस्त सेवा दिने गरी महानगरसँग तीन वर्षका लागि सम्झौता गरेको वल्र्डलिङ्क कम्युनिकेसन्स लिमिटेड वीरगञ्ज शाखाका शाखा प्रबन्धक अरफात देवानले जानकारी दिनुभयो । रासस

Facebook Comments