Mon. May 6th, 2024

अन्तर्राष्ट्रिय सगरमाथा दिवस   

काठमाण्डू, २०८० जेठ ३० गते मंगलबार । सगरमाथा आरोहणको ७०औँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय सगरमाथा दिवस, २०२३ का अवसरमा इस्लामाबादस्थित नेपाली राजदूतावासले नेपाली तथा पाकिस्तानी सगरमाथा आरोही, पर्वतारोहण सम्बद्ध पदाधिकारी, पत्रकार र नेपालका मित्रहरूको उपस्थितिमा कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

सो अवसरमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सगरमाथा दिवसको महत्त्वका बारेमा २९ मे १९५३ को सगरमाथाको प्रथम सफल आरोहणले पर्वतारोहणमा एक नयाँ आयाम थपेको र तत्पश्चात् हजारौँ पर्वतारोहीले सगरमाथा आरोहण गरेको बताउनुभयो ।

उहाँले नेपाल सरकारले पर्वतारोहणका सम्बन्धमा लिएका नीति, कार्यक्रम र पर्वतारोहण एवं साहसी पर्यटन र नीतिका बारेमा जानकारी दिनुभयो ।

उहाँले हालै सगरमाथा अरोहण गर्नुभएका पाकिस्तानी पर्वतारोही नयला कियानी, साजिद अली सादपारालाई बधाई दिँदै उहाँहरूको आगामी पर्वतारोहण र साहसी खेल एवं पर्यटन अभियानको सफलताको कामनासमेत गर्नुभयो ।

राससका अनुसार राजदूत अधिकारीले त्यस अवसरमा शेर्पा समुदायको पर्वतारोहणमा योगदानको चर्चा गर्दै पर्वतारोहणमा शेर्पाको दक्षता, विश्वसनीयता र सहयोगी भावनाका कारण उनीहरूको सहयोगमा कुनै पनि पर्वत आरोहण गर्न सहज रहेको बताउनुभयो । शेर्पाहरू नेपालको नम्र शक्ति रहेको र नेपाली समाजले उनीहरूको योगदानको उच्च सम्मान गर्दै पर्वतारोहणमा सदैव गौरवान्वित रहेको बताउनुभयो ।

सो अवसरमा राजदूत अधिकारीले नयला कियानी र साजिद अलि सादपारालाई नेपालको पर्यटन विभागबाट जारी भएको सगरमाथा आरोहण गर्दा दिइने प्रमाणपत्र हस्तान्तरण गर्नुभएको पाकिस्तानस्थित नेपाली राजदूतावासले जनाएको छ ।

कार्यक्रममा पर्वतारोही मिङ्ग्मा जी शेर्पा, दावा शेर्पा, सरवाज खान, नयला कियानी र साजिद अलि साद्पाराले नेपालमा पर्वतारोहणको आ–आफ्नो अनुभव सुनाउँदै पर्वतारोहण अभियानमा नेपाल सरकार र जनताबाट प्राप्त सहयोगप्रति आभारी रहेको बताउनुभएको थियो ।

Facebook Comments