Thu. Dec 26th, 2024

कार्यालय समयमा अनुपस्थित १०३ जना कर्मचारी कारबाहीमा

काठमाण्डू, २०८० जेठ २९ गते सोमबार । कार्यालय समयमा उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १ सय ३ जना कर्मचारी कारबाहीमा परेका छन् ।

मन्त्री अमनलाल मोदीको निर्देशनमा सचिव डा. कृष्णहरि पुष्करले सोमबार मन्त्रालयमा छड्के जाँच गर्नुभएको थियो । त्यस क्रममा बिहान सवा १० बजेसम्म पनि कार्यालय उपस्थित नभएका कर्मचारी कारबाहीमा परेका हुन् ।

कारबाहीमा परेका कर्मचारीहरूको सोमबारको हाजिरीमा रातो लगाइएको छ । सचिव डा. पुष्करले ती कर्मचारीहरूको हाजिरीमा रातो लगाउनुभएको हो ।

कारबाहीमा पर्नेमा सहसचिव १ जना र उपसचिव २३ जना छन् । त्यसैगरी ३६ जना शाखा अधिकृत र ४१ जना नासु तथा सहायक स्तरका कर्मचारी कारबाहीमा परेका छन् ।

यसैबीच मन्त्रालयको अतिरिक्त समूहमा रहेका १८ जना उपसचिवहरूको सरुवा भएको छ ।

अतिरिक्तमा रहेका १८ जना उपसचिवहरूमध्ये ५ जनाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । बाँकी सबैको विभिन्न जिल्लास्थित जिल्ला समन्वय समितिमा सरुवा भएको छ । रेडियो नेपाल

Facebook Comments