प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
काठमाण्डू, २०८० जेठ २९ गते सोमबार । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बैठकको बहुमतबाट विधेयक स्वीकृत भएको हो ।
बैठकमा सभामुख घिमिरेले विनियोजन विधेयक २०८० माथिको मन्त्रालय र सचिवालय अन्तर्गतका विभिन्न शीर्षकमाथि छलफलका लागि र सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यका लागि जेठ ३२ देखि असार १२ गतेसम्मको समय तोक्नुभयो ।
यसअघि प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले उठाउनु भएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकमा देखिएको आर्थिक समस्या, राजस्वको अवस्था, वैदेशिक ऋण र सहायताको अवस्था, आन्तरिक ऋणको अवस्था, मौद्रिक नीतिले ल्याएका प्रभाव, कोभिड र युक्रेन युद्धले ल्याएका बाह्य र आन्तरिक प्रभावको समेत मूल्याङ्कन गरी बजेट ल्याइएको बताउनुभयो ।
अर्थमन्त्री महतले उपलब्ध साधन, स्रोतको प्राथमिकता र प्रतिफलको आधारमा बजेट विनियोजन र उद्देश्य निर्धारण गर्दै परिणाममुखी बनाउँदै लैजाने कुरालाई बजेटमा स्वीकार गरिएको बताउनुभयो ।
राससका अनुसार उहाँले आर्थिक वृद्धिदरको लक्ष्य पूरा गर्न सक्ने विश्वास व्यक्त गर्दै सबैको सहयोगले राजस्व वृद्धिको लक्ष्य पनि पूरा हुने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिकासहित प्रभावकारी कार्यान्वयनको प्रणाली बनाएको बताउनुभयो ।
अर्थमन्त्री महतले कतिपय पहाडी जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकोले आवश्यकताका आधारमा सडक आयोजनामा विनियोजन बढाउनुपरेको स्पष्ट पार्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक जेठ ३२ गते बिहीबार बिहान ११ बजे बस्नेछ ।