Mon. May 6th, 2024

प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता

- प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण

भिओके समाचार/काठमाण्डू, २०८० जेठ २० गते शनिबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कनु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत पुग्नु भएका प्रचण्डले भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गर्नुभएको थियो । भ्रमणकै क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति दौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

भ्रमणका क्रममा नेपाल र भारतबीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विभिन्न सम्झौता र समझदारी भएका छन् । दुवै देशका प्रधानमन्त्रीबाट समानता, आपसी सम्मान र आपसी विश्वासका आधारमा मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा सवल बनाउने प्रतिबद्धता व्यक्त भएको छ । यो भ्रमण पहिलेको तुलनामा बढी फलदायी, दूरगामी प्रभाव पार्ने, नेपालको राष्ट्रिय हितमा केन्द्रित रहेको प्रधानमन्त्री प्रचण्डले बताउनु भएको छ । मुख्यतः आर्थिक क्रियाकलापमा सकारात्मक सन्देश दिने सफल भ्रमणका रुपमा आफुले महशुस गरेको प्रचण्डको प्रतिक्रिया  छ ।

प्रधानमन्त्री प्रचण्डले भ्रमणकै सिलसिलामा भारतको मध्यप्रदेशस्थित इन्दौर सहरमा पुगी त्यहाँको फोहर व्यवस्थापनको बारेमा जानकारी लिनुका साथै विज्ञानप्रविधिसम्बन्धी क्षेत्रको अवलोकन गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्ड आजै इन्दौरबाट नयाँदिल्ली फर्कनुभएको हो ।

नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले उहाँलाई बिदाइ गर्नुभएको थियो ।

Facebook Comments