Tue. Jan 14th, 2025

प्रधानमन्त्री दाहाल इन्दौरबाट नयाँदिल्ली प्रस्थान

- प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण

-विशेष समाचारदाता रमेश लम्साल

इन्दोर, मध्यप्रदेश (भारत)/२०८० जेठ २० गते शनिबार । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष विमानमार्फत मध्यप्रदेशको इन्दौरबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नुभएको छ ।

इन्दौरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उहाँलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले बिदाइ गर्नुभयो । उहाँले विमानभित्रै पुगेर नेपाली प्रतिनिधिमण्डलको बिदाइ गर्नुभएको थियो ।

सो क्रममा मुख्यमन्त्री चौहानले भारत–नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउन आफूहरु तयार रहेको बताउनुभयो । उहाँले भारत र नेपालबीच सदियौँ पुरानो सम्बन्ध रहेको र यसलाई अझ प्रगाढ बनाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आजै इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गर्नुभयो । सो क्रममा उहाँले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री दाहालले अवलोकनका क्रममा सो क्षेत्रमा सुनाखरीको बिरुवासमेत रोप्नुभएको थियो ।

प्रधानमन्त्री दाहाल शुक्रबार मध्यप्रदेशको इन्दौर पुग्नुभएको थियो । इन्दौरमा रहँदा उहाँले उज्जैनस्थित श्री महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्नुभएको थियो । उहाँले इन्दौरमा रहेको फोहर व्यवस्थापन केन्द्रको अवलोकन गर्नुभएको थियो ।

सो क्रममा इन्दौर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो । स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर नगर निगमले फोहर व्यवस्थापनमा गरेको काम विश्वमै नमुनायोग्य मानिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू निर्वाचित भएपछि स्वच्छ भारत अभियान सुरु गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहाल शुक्रबार मध्यप्रदेशका मुख्यमन्त्रीले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो । प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्कने कार्यक्रम छ । उहाँ यही जेठ १७ गते भारतको औपचारिक भ्रमणमा जानुभएको थियो ।

Facebook Comments