Sat. May 4th, 2024

समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर : उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

दमौली, २०७९ चैत २६ गते आईतबार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको र त्यसतर्फ सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो ।
“अहिलेको प्रमुख कार्यभार आर्थिक समृद्धि हो, यसतर्फ सरकार गम्भीर भएर लागेको छ,” श्रेष्ठले भन्नुभयो, “अर्थतन्त्र उकास्नका लागि सरकार कार्ययोजनासहित अगाडी बढ्छ ।”

मन्त्री श्रेष्ठले अर्थतन्त्रमा केही समस्या देखा परेको बताउँदै अर्थतन्त्रलाई लयमा ल्याइने बताउनुभयो । अर्थतन्त्रमा देखिएको समस्या सम्बोधनका लागि गम्भीर रुपमा छलफल भइरहेको श्रेष्ठको भनाई छ । “गठबन्धन सरकार भएकाले सरकार विस्तार लगायतका कामले केही ढिलाई भएको छ, अर्थमन्त्रीले जिम्मेवारी सम्हाल्निुसक्नुभएको छ,” श्रेष्ठले भन्नुभयो, “प्रधानमन्त्री ज्यूको विशेष पहलकदमीमा आगामी २९ गते यस विषयमा वृहत छलफल गर्दैछौ ।”

अर्थतन्त्रको वर्तमान अवस्था, समस्या र समाधानका लागि ठोस रुपमा के गर्नुपर्छ त्यसतर्फ सरकारले प्रयास गरेको श्रेष्ठले बताउनुभयो । “हामी यथास्थितिवादीको रुपमा हेरेर मात्र बस्दैनौ, कायापलट गर्छौ पनि भन्दैनौ तर अर्थतन्त्रका समस्या पहिचान गरेर सम्बोधन गर्न ठोस कदम चाल्छौ,” श्रेष्ठले भन्नुभयो ।

मन्त्री श्रेष्ठले सरकारले चाँडै नै पूर्णता पाउने दावी गर्नुभयो । महिला हिंसा रोकथामका लागि सरकार कठोर भएर प्रस्तुत हुने मन्त्री श्रेष्ठले बताउनुभयो । रासस

Facebook Comments