Thu. Dec 26th, 2024

कम्युनिष्ट पार्कमा कांग्रेसका राष्ट्रपति !

- फराकिलो मन भएका राम चन्द्र पौडेल

कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा रहेको पुष्पलाल श्रेष्ठको शालिकमा शनिबार माल्यार्पणका क्रममा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिरः किरणराज विष्टररासस

काठमाण्डू, २०७९ फागुन २७ गते शनिबार । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज कीर्तिपुर नगरपालिका-४ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यान जानुभई नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको प्रतिमामा माल्यार्पण गर्नुभएको छ ।

कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा रहेको पुष्पलाल श्रेष्ठको शालिकमा शनिबार माल्यार्पण गर्नुभएपछि सामूहिक तस्बिरमा सहभागी हुनुहुँदै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल । साथमा पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत । तस्बिरः किरणराज विष्ट/रासस

नेपाली कांग्रेका तर्फबाट मुलुककै सबैभन्दा उच्च तथा सम्मानजनक राष्ट्रपति पदमा निर्वाचित हुनु भएका पौडेलको कम्युनिष्ट पार्कमा भएको भ्रमणलाई विश्लेषकहरुले अत्यन्त महत्वपूर्ण भनि टिप्पणी गरेका छन् । प्रजातान्त्रिक आन्दोलनमा जीवनको महत्वपूर्ण समय व्यतित गर्नुभएका राष्ट्रपति पौडेलको पुष्पलाल स्मृति उद्यानको भ्रमणले पौडेललाई नेपाली कांग्रेसको नेताको रुपमा मात्र नभएर फराकिलो मन भएका एक प्रजातन्त्रवादी नेताको रुपमा पनि पुष्टि गरेको छ भने अर्कोतिर कांग्रेस र कम्युनिष्टको कित्ता कोरेर मुलुकमा विभाजनको बीउ रोप्नेहरुलाई सही मार्गदर्शन समेत गरेको छ ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल शनिबार कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा रहेको पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गर्नुहुँदै । तस्बिरः किरणराज विष्ट रासस

उद्यान पुग्नु भएका राष्ट्रपति पौडेललाई पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, काठमाण्डू क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसी, प्रदेशसभा सदस्य पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी, वडाध्यक्ष श्याम केसीलगायतले स्वागत गर्नुभएको थियो ।

माल्यार्पणपछि नवनिर्वाचित राष्ट्रपति पौडेलले प्रतिष्ठानको आगन्तुक कक्षमा रहेको पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो । पुस्तिकामा उहाँले पुष्पलालको स्मृति उद्यानको अवलोकन गर्दा आफूलाई खुसी लागेको उल्लेख गर्दै यसको विकास तथा प्रगतिको कामना गर्नुभएको छ । आगन्तुक कक्षमा नवनिर्वाचित राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच समसामयिक विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई अध्यक्ष नेपालले पुष्पलालसम्बन्धी स्मृतिग्रन्थ प्रदान गर्नुभएको थियो ।

Facebook Comments