Wed. Nov 27th, 2024

पौडेल राष्ट्रपति चुनिएपछि के भन्छन् तनहुँवासी ?   

-रामबहादुर थापा र कृष्ण न्यौपाने/गण्डकी, २०७९ फागुन २५ गते बिहीबार । राजनीतिज्ञका रूपमा रामचन्द्र पौडेलको भद्र, सादगी र इमान्दार छविलाई तनहुँवासीले पहिले सम्झन्छन् । गृहजिल्ला तनहुँमा मात्र नभई केन्द्रीय राजनीतिमा पनि त्यागी र निष्ठावान नेताका रूपमा उहाँ सधैँ चिनिनुभयो ।

अब भने तनहुँका बासिन्दाले सांसद या नेताका रूपमा नभई पौडेललाई मुलुककै सर्वोच्च राजकीय पदमा आसिन भएको देख्न पाउने भएका छन् । तनहुँबाटै छ-छपटक चुनाव जितेर संसद्मा पुग्नुभएका पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि स्थानीयवासीमा खुसीयाली छाएको छ ।

व्यास-८ रिस्तीको सामान्य किसान परिवारमा जन्मनुभएका पौडेल सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुलाई तनहुँवासीले गौरवका रूपमा लिएका छन् । राष्ट्राध्यक्षका रूपमा पौडेलले देश र जनताको हितका पक्षमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय एकता प्रवद्र्धन तथा संविधानको रक्षामा राष्ट्रपतिले निष्पक्ष र अभिभावकीय भूमिका खेल्नुपर्नेमा जनसाधारणको जोड छ । त्रिभुवन विश्वविद्यालय शिक्षा सङ्कायका पूर्वडिन व्यास-३ का प्रा डा कृष्णप्रसाद गौतमले पौडेलजस्तो विचारले निखारिएको, सरल र विवादरहित व्यक्तित्वलाई राष्ट्रपतिका रूपमा पाउनु गर्वको विषय भएको बताउनुभयो ।

“रामचन्द्र पौडेल धेरै खारिएका नेता हुनुहुन्छ, प्रजातन्त्र स्थापनाका लागि उहाँले लामो सङ्घर्ष गर्नुभयो, जेल जीवन बिताउनुभयो, उहाँ निर्वाचित हुँदा राष्ट्रपति पदको गरिमा अझ बढेर गएको छ”, प्रा डा गौतमले भन्नुभयो ।

उहाँले नवनिर्वाचित राष्ट्रपति पौडेलले राष्ट्रहित र लोककल्याणकारी काममा आफूलाई समर्पित गर्नेमा विश्वास व्यक्त गर्नुभयो । “राष्ट्रपति आलङ्कारिक भए पनि या सम्मानित र महत्वपूर्ण पद हो, विगतमा राष्ट्रपतिको भूमिकालाई लिएर केही टीका-टिप्पणी पनि भए”, प्रा डा गौतमले भन्नुभयो, “रामचन्द्र पौडेल अब तनहुँको मात्र नभई राष्ट्रको अभिभावक बन्नुभयो, उहाँले आफूलाई देशभक्त राष्ट्रपतिका रूपमा सावित गर्नेमा हामी आशावादी छौँ ।”

तनहुँ-२ का पूर्वसांसद केदार सिग्देलले राष्ट्रपतिले साझा भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । “नवनिर्वाचित राष्ट्रपति तनहुँबाटै राजनीतिमा स्थापित हुनुभएको हो, उहाँ हाम्रो अग्रज पनि हो, जिल्लावासीका रूपमा हामी सबैका लागि यो गर्वको विषय हो”, उहाँले भन्नुभयो ।

नवनिर्वाचित राष्ट्रपति पौडेलका छिमेकी व्यास-२ अमरापुरी निवासी सावित्री अधिकारीले आफूले मत दिएर पठाएको व्यक्ति मुलुकको सर्वोच्च पदमा पुग्दा खुसी लागेको बताउनुभयो । “घर आउँदा सन्चोबिसन्चो सोधिराख्नुहुन्थ्यो, आज उहाँ राष्ट्रपति भएको थाहा पाउँदा धेरै खुसी लागेको छ”, अधिकारीले भन्नुभयो, “देश र जनताका लागि राम्रो काम गर्नुहुन्छ भन्ने आशा छ ।”

पौडेलको जन्मगाउँ व्यास-८ रिस्तीका वडाध्यक्ष युवराज गुरुङले पौडेल राष्ट्रपति निर्वाचित हुँदा वडावासीमा खुसीयाली छाएको बताउनुभयो । नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले राष्ट्रलाई एकताबद्ध गर्न र संविधानको रक्षार्थ राष्ट्रपतिले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नवनिर्वाचित राष्ट्रपति पौडेलमा रहेको इमान, निष्ठा र त्यागको चरित्रले राष्ट्रपति पदको गरिमा अझ बढ्ने धारणा राख्नुभयो । “तनहुँ साहित्य क्षेत्रमा जसरी प्रख्यात छ, राजनीतिमा पनि उत्तिकै चर्चित छ”, अधिकारीले भन्नुभयो, “नवनिर्वाचित राष्ट्रपतिले निर्विवाद भूमिका खेल्नेमा हामी विश्वस्त छौँ ।”
    
यस्तो छ नवनिर्वाचित राष्ट्रपति पौडेलको जीवनी    

वि.सं. २००१ मा तनहुँको रिस्तीमा जन्मिनुभएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएको थियो । नेपाली कांग्रेसद्वारा सञ्चालित वि.सं. २०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाउनुभएको थियो ।

पौडेल वि.सं. २०२३ मा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित हुनुभएको थियो । वि.सं. २०२७ मा नेपाल विद्यार्थी सङ्घको स्थापनामा पौडेल पनि सहभागी हुनुभएको थियो ।

वि.सं. २०४० मा पौडेल नेपाली कांग्रेसको केन्द्रीय प्रचार समितिको संयोजक बन्नुभएको थियो । वि.सं. २०४४ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्नुभएका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा रहँदै आउनुभएको थियो ।

पौडेल २०४८ मा तनहुँ-१ बाट पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उहाँ यसबीचमा उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसक्नुभएको छ । उहाँले सभामुखको जिम्मेवारी पनि निभाउनुभएको छ ।

तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनपछि पौडेलले कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि बन्नुभएको थियो । पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गर्नुभएको छ ।

पौडेल गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा तनहुँ-१ बाट निर्वाचित हुनुभएको थियो । उहाँ यसअघि वि.सं. २०४८, २०५१, २०५६, २०६४ र २०७० को आम चुनावमा पनि तनहुँबाटै निर्वाचित हुनुभएको थियो । रासस   

Facebook Comments