Sat. May 18th, 2024

प्रधानसेनापतिसँग भारतीय सेनाका पूर्वप्रमुखको भेटवार्ता   

काठमाण्डू, २०७९ फागुन ७ गते आईतबार । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिने सिलसिलामा नेपाल भ्रमणमा रहनुभएका भारतीय सेनाका पूर्वप्रमुखहरूले भेटघाट र छलफल गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा प्रधानसेनापतिसहित समकक्षसँग उहाँहरूले दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा केन्द्रित रही भेटघाट र छलफल गर्नुभएको हो ।

भारतीय सेनाका पूर्वप्रमुख विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग नेपाल भ्रमणमा हुनुहुन्छ । सेना दिवसका अवसरमा नेपाली सेनाले आजै जङ्गी अड्डामा आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रममा समेत उहाँहरू सहभागी हुनुभयो ।

रासस का अनुसार यसअघि उहाँहरूले आजै मुस्ताङको जोमसोम इलाकाको भ्रमण र मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना भएको सेना दिवस मुख्य समारोहमा उहाँहरूले अथितिका रूपमा भाग लिनुभएको थियो ।

नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ । नेपाली सेनाले यस वर्ष २६०औँ स्थापना दिवस मनाएको छ ।

Facebook Comments