Mon. Dec 23rd, 2024

आज महाशिवरात्रि पर्व, भगवान शिवको पूजाआराधना गरी भव्य रुपमा मनाईदै

भिओके समाचार/काठमाण्डू, २०७९ फागुन ६ गते शनिबार । आज महाशिवरात्रि पर्व, भगवान शिवको पूजाआराधना गरी भव्य रुपमा मनाईदै छ । सामान्य स्तुतिबाटै छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका निराकार शिव स्वरूप यसै रात प्रकट भएको भन्ने धार्मिक मान्यता छ ।

प्राचिनकालदेखि नै फागुन कृष्ण चतुर्दशीको राति धार्मिक उल्लासका साथ महाशिवरात्रि पर्व धुमधामका साथ मनाउने चलन छ । विश्वभरीका हिन्दू धर्मावलम्बीहरुका आराध्यदेव पशुपतिनाथको पूजा र आराधना गर्न यत्तिवेला काठमाण्डौको पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ ।

पशुपति क्षेत्र विकास कोषले आज २० लाख दर्शनार्थीले मन्दिर अवलोकन गर्ने अनुमान गरेको छ । भक्तजनको सुविधाका लागि यस वर्ष विशेष व्यवस्था मिलाइएको छ ।

पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले पक्राउ कारबाही गर्ने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो । जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

पशुपति क्षेत्रमा बिहानदेखि हजारौँ भक्तजनको भीड देखिन्छ । दशनार्थीलाई व्यवस्थित दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा स्वास्थ्य शिविरलगायत पनि व्यवस्थापन गरिएको छ । पशुपतिनाथसँगै राजधानी एवं त्यसका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेकोे छ ।

Facebook Comments