Sat. May 4th, 2024

सामुदायिक रेडियोलाई प्रोत्साहन गर्ने नीति बनाउन पहल गर्छौं : मन्त्री पौडेल   

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल १२औँ विश्व रेडियो दिवसका अवसरमा सोमबार सामुदायिक रेडियो प्रसारक सङ्घले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिरः किरणराज विष्ट, रासस

काठमाण्डू, २०७९ फागुन १ गते सोमबार । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले सामुदायिक रेडियोलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने नीति लिने बताउनुभएको छ ।

पछिल्लो समयमा मुलुकमा सामुदायिक रेडियो प्राथमिकतामा नपरेको भन्ने गुनासो भइरहेका बेला उहाँले कुनै सञ्चारमाध्यमले रेडियोलाई विस्थापित गर्न नसक्ने विचार प्रकट गर्नुभयो । विश्व रेडियो दिवसका अवसरमा युनेस्को, अमार्क एशिया प्यासेफिक र इन्डिजिनियस मिडिया नेटवर्कको सहकार्यमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्नुभयो, “सञ्चारमाध्यमका प्रकार थपिँदै गए पनि रेडियोको उपयोगिता न सकिएको छ, न सकिने छ ।”

संविधानसँग बाँझिने गरी कानुन बनाउन नमिल्ने भन्दै सामुदायिक रेडियोका सन्दर्भमा सङ्घीय अधिकारसँग बाँझिने गरी कुनै अभ्यास गर्न नमिल्ने उहाँको भनाइ छ । ‘रेडियो र शान्ति’ नारासहित १२औँ विश्व दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले सामुदायिक मुद्दालाई समेट्ने सञ्चारमाध्यमका रुपमा समुदायिक रेडियोको प्रभावकारिता रहेको बताउनुभयो ।

कार्यक्रममा सामूदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियो राजनीतिक र सामाजिक रुपले पछि परेको रेडियोकर्मीको गुनासो रहेको बताउँदै रेडियो विपद्को सुखदुःखको साथी रहेकाले राज्यको अभिभाकत्वको भूमिका आवश्यकपर्ने बताउनुभयो ।

राससका अनुसार कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपालले मानव विकास सूचकाङ्क बढाउन सामुदायिक रेडियोको योगदान धेरै रहेको बताउनुभयो । उहाँले रेडियोको लाइसेन्स सङ्घबाट जारी गर्ने र हुलाकबाट नवीकरण गर्ने व्यवस्थाका कारण सेवा लिनेलाई झन्झट भएको बताउनुभयो । उहाँले समस्या समाधानका लागि छलफल गरी अघि बढ्न आफूहरू तयार रहेको धारणा व्यक्त गर्नुभयो ।

Facebook Comments