Sat. May 4th, 2024

काठमाण्डू उपत्यकामा भोलिदेखि सार्वजनिक गाडी नचलाउने मजदूरहरुको घोषणा

भिओके समाचार/काठमाण्डू, २०७९ फागुन १ गते सोमबार । यातायात मजदुरहरुले भोलिदेखि काठमाण्डू उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्। आज साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन्।

नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताउनु भयो । मजदूरहरुले बालाजु क्षेत्रमा सडकमा गाडी तेर्साएर अवरूद्ध गरेका छन्। राईका अनुसार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा आन्दोलन सुरु गरेका हुन् ।

ट्राफिक प्रहरीले ऐनविपरीत जरिवाना असुल्ने, चालकहरूको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुली लगायत मनोमानी गरेको मजदूरहरुको आरोप छ । ट्राफिक प्रहरीले मनोमानी गर्न नहुने भन्दै उनीहरूले यातायात ठप्प पार्ने चेतावनी दिएका हुन् । आफ्ना मागहरू तत्कालै सम्बोधन हुनुपर्ने र कानुन संशोधन लगायतका नीतिगत विषयहरूलाई सम्बोधन गर्ने गरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने मजदूर संगठनहरूको अडान छ।

Facebook Comments