Fri. Apr 26th, 2024

बाल साहित्य महोत्सव सम्पन्न   

काठमाण्डू, २०७९ माघ २९ गते आईतबार । अक्षरा स्कुलले आयोजना गरेको दोस्रो अक्षरा बाल साहित्य महोत्सव सम्पन्न भएको छ । उपत्यकाभित्रका सरकारी तथा संस्थागत गरी २५ भन्दा बढी विद्यालय र चार हजारभन्दा बढी अभिभावकबीच विभिन्न कार्यक्रम गरी अक्षरा स्कुलले साहित्य महोत्सव गरेको हो ।

महोत्सवमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले बालबालिकालाई विद्यालय तहदेखि नै साहित्यको ज्ञान दिनु निकै अर्थपूर्ण भएको बताउनुभयो । उहाँले साहित्य विधा आफैँमा महत्त्वपूर्ण भएकाले हरेक व्यक्ति साहित्यकार बन्न सक्ने भन्नुभयो । उहाँले भन्नुभयो, “हरेक मान्छे साहित्यकार बन्न सक्छ, यदि मनमा खेलेका कुरालाई काँटछाँट गरेर प्रस्तुत गर्ने अभ्यास गर्न सकेमा साहित्य जटिल विषय होइन । यसका विभिन्न फरक विधामा अभ्यास हुन जरुरी छ ।”

बालबालिकामा पठन संस्कृतिको विकास र विशेषगरी साहित्यमा ज्ञान अभिवृद्धिका लागि आयोजित महोत्सवमा विद्यार्थी र शिक्षकलाई भाषा शिक्षण, लेखन सीप, रेडियो नाटक, पुस्तकको आवरण चित्र, लेखक अध्ययन, पात्र चित्रणलगायत विभिन्न शीर्षकमा साहित्यसम्बन्धी कार्यशाला गरिएको हो । साथै महोत्सवको बन्दसत्रमा विभिन्न विद्यालयका विद्यार्थीलाई कक्षामा पाठ्यपुस्तकसँगै साहित्यका पुस्तक रमाइलो र अर्थपूर्ण तरिकाले कसरी शिक्षण गर्ने विषयमा अन्तरक्रिया गरिएको हो ।

बालबालिकामा निर्धारित पाठ्युपुस्तक बाहेक पठन संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा लेखक नीलम कार्की निहारिका र बुद्धिसागरसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा बल्दै लेखकद्वयले व्यावहारिक ज्ञानका लागि पाठ्यक्रम बाहिरका पुस्तक बढी आवश्यक भएको बताउनुभयो । उहाँहरूले बालबालिकालाई विद्यालयमै विविध विषयमा आधारभूत ज्ञान दिनु आवश्यक भए पनि हालसम्म बाल तथा किशोर साहित्यसम्बन्धी साम्रगी सहज उपलब्ध नहुनु दुःखद् रहेको बताउनुभयो ।

विद्यालयबाटै संस्कारयुक्त शिक्षाको अभ्यास गरिरहेको अक्षरा स्कुलकी प्रिन्सिपल अन्जु भट्टराईले बाल साहित्य महोत्सवको माध्यमबाट बालबालिकामा पठन संस्कृतिको विकास गर्न सकिने बताउनुभयो । रासस

Facebook Comments