Mon. May 6th, 2024

राष्ट्रिय प्रसारण ऐन संशोधन गरी रेडियोमैत्री बनाउन माग   

काठमाण्डू, २०७९ माघ २९ गते आईतबार । सञ्चार क्षेत्रका विज्ञहरूले राष्ट्रिय प्रसारण ऐन, २०४९ लाई संशोधन गरी रेडियोमैत्री बनाउनुपर्ने माग गरेका छन् । विश्व रेडियो दिवसका अवसरमा ब्रोडकास्टिङ एसोेसिएसन अफ नेपाल (बान) ले आज आयोजना गरेको ‘ब्रोडकास्टिङ पिस : एक्सपेरियन्स अफ नेपाली रेडियो’ विषयक कार्यक्रममा सञ्चार क्षेत्रका विज्ञहरूले सञ्चारसम्बन्धी भएका ऐन/कानुन रेडियोमैत्री नहुँदा रेडियोहरू सङ्कटमा पर्दै गएको बताएका हुन् ।

प्रतिनिधिसभाका सांसद विद्या भट्टराईले सञ्चारसम्बन्धी भएका कानुन परिमार्जन गर्ने र निर्माणको प्रक्रियामा रहेका सञ्चार कानुनमा सम्बन्धित क्षेत्रको सुझाव र सल्लाहका आधारमा अगाडि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपालले व्यावसायिक रेडियोहरूले आर्थिक सङ्कट भोग्नु परेको उल्लेख गर्दै आवश्यकताभन्दा बढी रेडियो हुँदा समस्या भएको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिताको कार्यान्वयनसँगै रेडियोलाई तथ्यपूर्ण, विश्वसनीय र सन्तुलित बनाउनुपर्ने बताउनुभयो । बाग्मती प्रदेशका प्रेस रजिष्ट्रार रेवती सापकोटाले मिडिया सञ्चालक र श्रमजीवी पत्रकारहरूले नै नीतिगत सुधारका निम्ति पहल गर्नुपर्ने धारणा राख्नुभयो । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वन गर्न आमसञ्चार माध्यमलाई आग्रह गर्नुभयो ।

सामुदायिक रेडियो प्रसारक सङ्घ(एको¥याब)का अध्यक्ष अर्जुन गिरीले पछिल्लो समय रेडियोहरूमा देखिएको समस्या समाधानका निम्ति ऐन/कानुन र नीतिगत सुधार गर्नुपर्नेमा जोड दिनुभयो । बानका अध्यक्ष कुमार भट्टराईले रेडियोले नागरिकको लोकतन्त्र, गणतन्त्र, मानवअधिकार, सुशासन, समानता, सामाजिक न्याय, दिगो विकास, स्वाधीन अर्थतन्त्रको विकास, भाषा, कला, साहित्य, संस्कृति र सामाजिक सद्भाव अभिवृद्धिका निम्ति अतुलनीय योगदान दिएको चर्चा गर्नुभयो ।

बान नेपालभरि छरिएर रहेका व्यावसायिक रेडियोको छाता सङ्गठन हो । सदस्य रेडियोको हकहित संरक्षण र प्रवद्र्धन गर्ने मूल उद्देश्यले २०६० सालमा स्थापना भएको बानमा अहिले तीन सय चार सदस्य रेडियोको आबद्धता रहेको छ । व्यावसायिक रेडियोका सञ्चालकहरुको संस्था बानले छातामा रहेका नेपालका व्यावसायिक रेडियोहरूमा मात्रै करिब पाँच अर्बको लगानी रहेको अध्यक्ष भट्टराईको भनाइ छ ।  रासस

Facebook Comments