Fri. Dec 27th, 2024

एमाले निकट अनेरास्ववियु महाधिवेशनको तयारी पूरा   

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष सुनिता बराल आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुने २३औँ राष्ट्रिय सम्मेलनबारे बागबजारमा आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै । तस्बिर : हरिराम भेटुवाल, रासस

काठमाण्डू, २०७९ माघ २९ गते आईतबार । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ ।

यही फागुन २ देखि ४ गतेसम्म हुने महाधिवशेनको तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिनुभयो । सात वर्षपछि महाधिवेशन हुन लागेको हो । यसअघि २०७२ माघमा भएको महाधिवेशन तत्कालीन नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता भएपछि हुनसकेको थिएन ।

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील सङ्गठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका साथ काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा हुन महाधिवेशन हुदैँछ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुहुने अनेरास्ववियुका अध्यक्ष बरालले जानकारी दिनुभयो । आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी तथा अनुशासन, लेखा र निर्वाचन गरी तीन आयोग निर्वाचित हुनेछन् ।

महाविधेशनमा एक हजार ५  सय ७३ प्रतिनिधि सहभागी हुँदैछन् ।  

“नेतृत्व चयन सहमतिमा नहुँदा स्वस्थ र मर्यादित प्रतिस्पर्धाको माध्यमवाट नेतृत्व चयन गर्ने छौँ,” उहाँले भन्नुभयो । नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र महासचिव समिक वडाल रहनुभएको छ ।

निर्वाचन प्रक्रियालाई व्यवस्थित, छिटोछरितो बनाउन विद्युतीय मेसिनमार्फत निर्वाचन गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।  महाधिवेशनमा नयाँ पुस्तामा देखिरहेको बहुदलिय राजनीतिप्रतिको अस्वभाविक धारणा र विद्यार्थी आन्दोलनको औचित्यमाथि उठिरहेको प्रश्नमाथि छलफल र समीक्षा गरिने महासचिव समिक बडालले जानकारी दिनुभयो ।

Facebook Comments