काठमाण्डू, २०७९ माघ २९ गते आईतबार । जिल्ला प्रहरी परिसर काठमाडौँले चिकित्सकमाथि लाठीचार्ज गर्ने वरिष्ठ हबल्दारलाई निलम्बन गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेलामा हिँडेको भन्दै राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलाई लाठीचार्ज गर्ने वरिष्ठ हबल्दार शम्भुजङ्ग गुरुङलाई आज निलम्बन गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले चिकित्सकलाई लाठीचार्ज गर्ने प्रहरीलाई व्यावसायिकता, उत्तरदायित्व एवं जवाफदेहीताको कसीमा कारबाहीको प्रक्रिया सुरु भई निलम्बन गरिएको जानकारी दिनुभयो ।

नेपाल टेलिभिजनका अनुसार चिकित्सक एवं सुरक्षाकर्मीबीच अन्योन्याश्रित एवं सन्निकट सम्बन्ध स्थापित भई नागरिकको सुरक्षा र उपचारमा २४ सैं घण्टा खटिने दुई जिम्मेवार संस्थाको सम्बन्धमा व्यक्तिका गैर व्यावसायिक कार्यका कारण समस्या उत्पन्न हुनु दुःखद् भएको प्रहरीले जनाएको छ ।

प्रवक्ता रिजालले प्रहरी कर्मचारी र नेपाल चिकित्सक सङ्घ तथा अस्पतालमा कार्यरत चिकित्सकबीच उत्पन्न विवादको घटनाले अत्यन्त संवेदनशील बनाएको भन्दै परिस्थितिलाई सामान्यीकरण गर्न सबैमा अनुरोधसमेत गर्नुभएको छ ।