Mon. May 13th, 2024

भ्रष्टाचार नियन्त्रण गर्न राज्य संयन्त्र एकजुट हुनुपर्छ : राष्ट्रपति भण्डारी   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शनिबार आयोजित ३२ औँ स्थापना दिवसमा सम्बोधन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर : किरणराज विष्ट, रासस

काठमाण्डू, २०७९ माघ २८ गते शनिबार । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि आ-आफ्नो क्षेत्रबाट योगदान र सक्रियता देखाउन सबैमा आह्वान गर्नुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व, आयोग र प्रशासनिक नेतृत्वको साङ्गठनिक एवं एकताबद्ध प्रयासबाट मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “भ्रष्टाचार राज्यविरुद्धको अपराध हो । यसले मुलुकको समृद्धि र दिगो विकासमा बाधा पु-याउने भएकाले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा सम्पूर्ण राज्य संयन्त्र एवं सरोकारवाला एकजुट हुन जरुरी छ ।”

सेवा प्रवाहमा अनियमितता, राष्ट्रिय सम्पत्तिको दोहन, द्वन्द्वको सिर्जना तथा अन्तर्राष्ट्रिय सम्मानमा कुठाराघात गर्ने हुँदा भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको राष्ट्रपति भण्डारीको भनाइ छ । उहाँले उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गरी सबैले नैतिकवान्, सदाचारी र इमान्दार भई काम गर्न सकेमा मात्र भ्रष्टाचार न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो । रासस

Facebook Comments