Sat. Apr 27th, 2024

मुना कृषि लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न

रमेश हतुवाली/काठमाण्डू, २०७९ माघ २८ गते शनिबार । मुना कृषि लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न भएको छ ।

उपभोक्ताको भान्छामा रैथाने कृषि उत्पादन पुर्याउने उद्धेश्यले स्थापना भएको मुना कृषि लिमिटेडको तेस्रो साधारण सभा ललितपुरको सानेमा आज सम्पन्न भएको हो । कृषि मन्त्री ज्वाला कुमारी शाहको प्रमुख आतिथ्यतामा सम्पन्न सो साधारण सभामा मुना कृषि लिमिटेडका अध्यक्ष जानकी गुरुङ, प्रबन्ध निर्देशक युवराज गुरुङ लगायतले मुना कृषि लिमिटेडको स्थापना र सो संस्थाले हालसम्म निर्वाह गरेको भूमिकाबारे बोल्नु भएको थियो ।

सो साधारण सभालाई सम्बोधन गर्नुहुँदै कृषि मन्त्री ज्वाला कुमारी शाहले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण र बैज्ञानिकीकरण गर्दै उत्पादन बढाउन लाग्नु पर्ने बताउनु भयो । मन्त्री शाहले रैथाने वालीहरुको उत्पादन गर्दा आधुनिक विषादीहरुको प्रयोग गर्न नहुनेमा जोड दिनुभयो । उहाँले रैथाने वालीहरुको प्रवद्र्धनमा सरकारले कृषकहरुलाई साथ दिने र उत्कृष्ठ कृषकहरुलाई पुरस्कृत समेत गरिने बताउनु भयो । मुना कृषि लिमिटेडका अध्यक्ष जानकी गुरुङले बाध्यताले विदेशिनु परे पनि अब मातृभूमिका लागि केही गर्नुपर्छ भन्ने उद्धेश्यसाथ सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थाको रुपमा मुना कृषि लिमिटेडको स्थापना गरिएको बताउनु भयो ।

मुना कृषि लिमिटेडका प्रबन्ध निर्देशक युवराज गुरुङले नेपालको कृषि क्षेत्रको विकासलाई कसरी टेवा पुर्याउन सकिन्छ भन्ने सोचका साथ स्वदेश र विदेशमा बस्ने नेपालीहरुको सामूहिक सहभागिता र सक्रियतामा मुना कृषि लिमिटेडको स्थापना गरिएको जानकारी दिनुभयो ।

Facebook Comments