Sat. May 18th, 2024

इयुद्वारा भूकम्प प्रभावित टर्कीका लागि ३६ वटा उद्धार टोली परिचालन

काठमाण्डू, २०७९ माघ २६ गते बिहीबार । युरोपेली युनियन (इयु) का सदस्य राष्ट्रहरू र इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीनवटा देशले भूकम्प प्रभावित टर्कीमा ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका छन् ।

भूकम्पबाट उत्पन्न सङ्कट व्यवस्थापनका लागि युरोपेली आयुक्त लेनार्सिकले सो कदम चालिएको जानकारी दिनुभएको छ । टोलीमा करिब १ हजार ५ सय उद्धारकर्मी, स्वास्थ्यकर्मीका साथै १ सयवटा खोज तथा उद्धार कुकुर परिचालन गरिएको बताइएको छ । युरोपेली युनियनका सुरक्षा टोलीहरू पनि समन्वयमा सहयोग गर्न खटाइएकोउहाँले बताउनु भयो । सोमबार देशको दक्षिणी भागमा शक्तिशाली भूकम्प गएपछि टर्कीले इयु नागरिक सुरक्षा संयन्त्र सक्रिय बनाएको छ । यस किसिमको समूह युरोप र बाहिरका कुनै पनि देशका लागि आवश्यक उद्धारका लागि तयार गरिएको हो।

स्थानीय समय अनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिणी प्रान्त कहरामनमारासमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पका कारण टर्कीको दक्षिणी प्रान्त हाते र सिरियाको उत्तरी शहर एलेप्पोमा सबैभन्दा ठूलो जनधनको क्षति भएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको संख्या दुवै देशमा गरेर १५ हजार ३ सय ८३ पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

Facebook Comments