Wed. Apr 24th, 2024

टर्कीमा हिजो गएको भूकम्पमा परी ५ हजार जना भन्दा धेरैको ज्यान गयो

काठमाण्डू, २०७९ माघ २४ गते मंगलबार । सिरियाको सीमा नजिकै टर्कीमा हिजो गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउने र घाइते हुनेहरुको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ ।

अहिलेसम्म सिरीया र टर्कीमा ५ हजार भन्दा धेरैको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ । भूकम्पमा परेकाहरुको खोजी कार्यले तीव्रता पाएको छ । विभिन्न देशबाट अत्याधुनिक प्रविधि र तालिम प्राप्त कुकुरहरुले खोजी कार्यलाई तिब्रता दिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले ज्यान गुमाउनेको सङ्ख्या हजारौं हुन सक्ने अनुमान गरेको छ । । उद्धारकर्मीहरूले भग्नावशेषमा थुप्रै मृतक भेटिरहेका छन् । वर्षासहित हिउँ परिरहेकाले खोजी कार्यमा समस्या भइरहेको छ । धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् । जहाँ प्रतिबन्धहरुका कारण सहयोगीहरु पुग्न सकिरहेका छैनन् । दुवै देशका हजारौँ भवनहरू ध्वस्त भएका छन् । अस्पतालहरु घाइतेले भरिएका छन् । टर्की रेड क्रिसेन्टले त्यहाँका नागरिकहरुलाई रक्तदान गर्न आह्वान गरेको छ । टर्कीले अन्तर्राष्ट्रिय सहयोग अपिल गरेपछि ४५ वटा देशहरूले सहयोगको प्रस्ताव गरेको टर्कीका राष्ट्रपति राष्ट्रपति रेजेप ताइयीप एर्दोआनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

युरोपेली सङ्घले टर्कीमा खोजी र उद्धार टोली पठाइरहेको जनाएको छ । बेलायतले ७६ जना विज्ञ, उपकरण र उद्धार गर्ने कुकुर पठाएको जनाएको छ । फ्रान्स, जर्मनी, इजरायल र अमेरिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अष्ट्रेलियाले एक करोड अमेरिकी डलरसहित विशेषज्ञ टोली पठाउने निर्णय गरेको छ । प्रभावित क्षेत्रका विद्यालयहरु एक हप्ताको लागि बन्द गरिएका छन् । टर्कीमा यस अघि सन् १९९९ मा गएको भूकम्पका कारण १७ हजार र सन् १९३९ मा गएको भूकम्पका कारण ३३ हजार जना मानिसको ज्यान गएको थियो ।

Facebook Comments