Fri. Apr 19th, 2024

महानगरवासीमा जागरण ल्याउन सडक नाटक   

टङ्कीसिनवारी, २३ माघ (रासस) :
विराटनगर महानगरपालिकाले विराटनगरवासीमा जागरुकता ल्याउन सडक नाटक मञ्चन गरेको छ । महानगरपालिकाले राजस्वको दायरा फराकिलो पार्नेदेखि विभिन्न काम कारबाहीका बारेमा सुसूचित गराउने उद्देश्यले मङ्सिरदेखि रचनात्मक अभियानको थालनी गरेको हो ।

न्यायमा विराटनगरवासीको पहुँच सुनिश्चित गराउनका लागि विराटनगर–९ को महावीर चोकमा आज सडक नाटकको मञ्चन गरियो । सडक नाटकको माध्यमबाट घरको साँध सीमाना मिच्नेदेखि घरेलु हिंसासम्मका घटना घटे न्यायका लागि महानगरपालिकाअन्तर्गतको न्यायिक समितिमा उजुरी दर्ता गर्न/गराउन भनी सन्देश प्रवाह गरियो ।

सडक नाटकप्रति विराटनगरवासीको उत्साह थियो । महानगरपालिकाअन्तर्गतको कानुन तथा न्याय शाखाकी प्रमुख शारदा थपलियाले आरोहण गुरुकुलका कलाकारको समन्वयमा विराटनगरवासीमा जागरण ल्याउन र न्यायमा पहुँच वृद्धिका लागि सचेतनामूलक सडक नाटकको मञ्चन गरिएको बताउनुभयो । उहाँले स्थानीय मैथिली भाषामा नाटक मञ्चन गरिएकाले स्थानीयवासीमा महानगरप्रति अपनत्वको भावना विकास भएको बताउनुभयो ।

शाखाकी सहायक पाँचाँै तहकी कर्मचारी सुनिता पौडेलले नगरक्षेत्रभित्रको दुर्गम र जातिगत रूपमा पिछडिएको स्थानमा बसोबास गर्ने स्थानीयवासीलाई न्यायका लागि अदालत नै पुग्नुपर्ने र खर्च ज्यादा हुने भन्ने धारणा बसेको बताउनुभयो । उहाँले न्यायिक समितिले के-के काम गर्छ, अधिकार के हो, कस्तो–कस्तो घटनामा न्याय पाइन्छ भन्ने जानकारी दिन सडक नाटकको मञ्चन गरिएको बताउनुभयो । उहाँले नाटक हेर्न मानिसको भीड पनि लाग्ने अनि न्यायिक समितिले निःशुल्क सेवा प्रवाह गर्ने सन्देश जाने बताउनुभयो ।

रासस का अनुसार विराटनगर-११ बस्ने देवसारन महतोले आफूलाई नाटक हेर्नुभन्दा पहिले महानगरपालिकाले पनि न्याय दिने गरेको कुरा आफूलाई थाहा नभएको बताउनुभयो । आफ्नै मैथिली भाषामा गरिएको नाटक मञ्चनले आफूलाई जागरुक बनाएको बताउनुभयो ।

नाटकमा संलग्न कलाकार सङ्गीता यादवले यस्ता खालका जनचेतनाका कार्यक्रमले विराटनगरवासीमा अधिकार प्राप्तिका लागि प्रेरणा मिल्ने बताउनुभयो । उहाँले महानगरपालिकाको न्यायिक समितिबाट न्याय सम्पादन हुने र यो निःशुल्क रहेको कुरा नाटकको माध्यमबाट देखाएको बताउनुभयो । यादवबाहेक भरत कार्की, विकास पराजुली, प्रदीप खड्का, अनुषा कट्टेल, रविन चिमरिया र दीक्षा कुमारीले सडक नाटकमा अभिनय गर्नुभएको थियो ।

महानगरपालिकको लगानीमा गत बिहीबारदेखि वडा नं १०, ११, १६ र १८ को विभिन्न ११ ठाउँमा सडक नाटक मञ्चन गर्दै आजै समापन गरिएको थियो । न्यायिक समितिले चालू आर्थिक वर्ष २०७९/८० को हालसम्म दर्ता रहेको एक सय ३८ वटा मुद्दामध्ये ९३ वटामा फैसला सुनाएको छ ।

Facebook Comments