Fri. Apr 19th, 2024

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु हुन्छः मन्त्री किराती   

भैरहवा, २०७९ माघ २३ गते सोमबार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने बताउनुुभएको छ ।

सो विमानस्थलको निरीक्षणपछि उहाँले आफू काठमाडौँ पुुगेलगत्तै यस विषयमा पहल गर्ने जानकारी दिनुभएको हो । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक जहाज यहाँ किन आएका छैनन् भन्ने विषयमा आफूले छलफल गर्ने र उडान थाल्ने आश्वासन दिनुुभएको हो ।

नेपाल एयरलाइन्स मात्र नभइ अन्य विमानसेवाको उडानका लागि पनि आफूले पहल गरिरहेको उहाँको भनाइ थियो । श्रीलङ्का भ्रमणमा रहनुुभएका परराष्ट्रमन्त्रीमार्फत कोलम्बो-भैरहवा-कोलम्बो उडानका लागि पनि पहल गरिएको मन्त्री किरातीले जानकारी दिनुुभयो ।प्रधानमन्त्रीको भारत भ्रमणका बेला आइएलएस, रुट परमिट, दिल्ली-भैरहवा उडानलगायत विषयमा भारतको सहयोगसम्बन्धी एजेण्डालाई पहिलो प्राथमिकतामा राखी पहल गरिने उहाँको भनाइ थियोे ।

मन्त्री किरातीले यस विमानस्थल सञ्चालनका लागि कूटनीतिक र प्राविधिक समस्या समाधान गर्ने प्रतिबद्वता व्यक्त गर्दै विमानस्थल सञ्चालनका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने पनि बताउनुभयो । यस विमानस्थलमा नियमित उडान गरेको जजिरा र हिमालय एयरलायन्सले मौसम खराबीको कारण देखाउँदै गत पुसमा उडान रोकेका थिए । नेपाल र चीनका निजी क्षेत्रको संयुक्त लगानी रहेको हिमालयन एयरलायन्सले गत पुस १ र जजिराले पुस ६ गतेदेखि उडान रोकेका हुन् ।

विमानस्थलमा हालसम्म एक सय ५४ अन्तर्राष्ट्रिय उडान र त्यत्तिकै सङ्ख्यामा अवतरण भएका थिए । सो अवधिमा ३२ हजार यात्रुले सेवा लिएको विमानस्थलले जनाएको छ । रासस

Facebook Comments