Sun. May 19th, 2024

सिमसार क्षेत्र संरक्षणमा चुनौती   

चितवन, २०७९ माघ १९ गते बिहीबार । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका सिमसार क्षेत्र संरक्षणमा चुनौती थपिँदै गएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज यहाँ आयोजना गरेको विश्व सिमसार दिवस २०२३ को अवसरमा आयोजित कार्यक्रममा सो धारणा व्यक्त गरिएको हो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै काठमाण्डु विश्वविद्यालयका जलीय पर्यावरण केन्द्रका प्रा डा सुवोध शर्माले निकुञ्जभित्र रहेका ८३ सिमसार क्षेत्रमध्ये ५८ वटालाई संरक्षणको आवश्यकता रहेको बताउनुभयो । निकुञ्जभित्र रहेका सिमसार क्षेत्रमध्ये ९ प्रतिशत उत्कृष्ट छन् भने ३४ प्रतिशत ठीकै अवस्थामा छन् । अन्य सिमसार क्षेत्र तत्काल संरक्षण गर्न आवश्यक रहेको उहाँको कार्यपत्रमा उल्लेख छ ।

निकुञ्जभित्र र मध्यवर्ती क्षेत्रमा रहेका सिमसार क्षेत्रको संरक्षणको कमीका कारण राष्ट्रिय रुपमा सकङ्टमा परेका २७ प्रजातिका चराको बासस्थान, ८५ प्रतिशत लोपोन्मुख स्तनधारी जनावरको बासस्थान खतरामा पर्ने कार्यपत्रमा उल्लेख छ । निकुञ्जको सिमसार क्षेत्रमा २४ प्रतिशत संरक्षित बोट बिरुवा र तीन सय १८ वनस्पति रहेका छन् । सिमसार सङ्कटमा पर्दा तीसमेत सङ्कटमा पुग्ने उहाँले बताउनुभयो ।

मानवीय गतिविधि, प्रदूषण, गेग्रेटिकरणा, माइक्रेनियालगायत कारण सिमसार क्षेत्र सङ्कटमा परेको सो अवसरमा उहाँले जानकारी दिनुभयो । सिमसार क्षेत्रको संरक्षणका लागि युवापुस्तामा जागरण, सार्वजनिक संस्था, दातृ निकाय, स्थानीय नेता, निजी क्षेत्र, शिक्षक, वैज्ञानिक र सिमसार क्षेत्र संरक्षण अभियान कर्ता एक हुनुपर्ने कार्यपत्रमा उल्लेख छ ।

सन् १९९३ मा सिमसार क्षेत्रमा २७ सुष्म जीव पाइएको भए पनि अहिले आठ हजार आठ सय ७२ सुष्म जीव पाइएको शर्माले जानकारी दिनुभयो । कार्यपत्र प्रस्तुत गर्दै उहाँले नेपालमा हालसम्म १० रामसारक्षेत्र सूचीकृत सिमसार क्षेत्र रहेको र सन् २०२४ भित्र थप १० रामसार सूचीमा सूचीकृत गर्नुपर्ने अवस्थामा रहेको बताउनुभयो । सिमसार क्षेत्र सङ्कटापन्न अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिमसार क्षेत्रको संरक्षणमा महानगरपालिका लागि परेको बताउनुभयो । स्थानीय सरकार संरक्षणमा लागि परेको उहाँको भनाइ थियो । महानगरको क्षेत्रभित्र रहेका सिमसार क्षेत्रको संरक्षण र सम्वद्र्धनका लागि महानगरपालिका लाग्ने प्रतिबद्वता उहाँले व्यक्त गर्नुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महार्निदेशक डा महेश्वर ढकालले सिमसार क्षेत्रको महत्व जनमानसमा पु¥याउन नसक्दा संरक्षणमा चुनौती थपिएको बताउनुभयो । सिमसार क्षेत्रको प्रदूषण नियन्त्रण र सरसफाइलाई ध्यान दिन सकेमा मात्रै संरक्षणा गर्न सकिने उहाँको भनाइ थियो ।

वन तथा भू संरक्षण विभागका महानिर्देशक दिनेशमणि त्रिपाठी, बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक अजय कार्कीले स्थानीय तहमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी ज्ञानको अभावका कारण समस्या थपिँदै गएको बताउनुभयो ।

सिमसार दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका २० गोही राप्ती नदीमा छोडिएको छ । राप्ती नदीमा माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महत्वले गोही छाड्नुभएको हो । आज छोडिएका गोहीमध्ये दुई भाले र १८ पोथी गोही रहेका छन् । ती गोही ६ देखि ७ वर्ष उमेरका रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

योसँगै केन्द्रमा हुर्काइएका एक हजार सात सय १२ गोही छोडिएको छ । छोडिएका गोहीमध्ये राप्ती नदीमा नौ सय ९२, नारायणाी नदीमा चार सय १९, कालिगण्डकीमा ३५, सप्तकोसीमा एक सय १५, कणाली नदीमा ४१, बंबई नदीमा एक सय १० गोही छोडिएको उहाँले जानकारी दिनुभयो । निकुञ्ज विभागका महानिर्देशकको उपस्थितिमा गोही नदीमा छोडिएको हो । रासस

Facebook Comments