Wed. Apr 24th, 2024

झोराहाट नाट्य घरमा माघ महिनाकाे साहित्यिक कार्यक्रम सम्पन्न

महेश भट्टराई / झाेराहाट, २०७९ माघ १४ गते शनिबार । मोरङ जिल्लाको ग्रामथान गाउँपालिकास्थित झोराहाट नाट्य घरले हरेक महिनाको दोस्रो शनिबार आयोजना गर्दै आएको साहित्यिक श्रृङखलामा पाँच जना स्रष्टा प्रस्तुत भएका छन् ।

माघ महिनाको श्रृङखलामा पाँच जना कवि तथा गजलकार प्रस्तुत भएका हुन् । नाटक घरको सभा हलमा शनिबार आयोजित कार्यक्रममा कवि एवं गजलकार चिरञ्जीवी काफ्ले, भूमिका खनाल , खेमराज आचार्य ,अन्जु अश्रु र हिन्दी साहित्यका सशक्त साहित्यकार पुजा बहारले आफ्ना साहित्यिक रचना प्रस्तुत गर्नुभयो । उहाँहरूले कविता र गजल वाचन गर्नुभएको थियो ।

चिरञ्जीवी काफ्ले ( गजल )

मुस्कान छरेर गयौ , बढ्दै गयो जवानी
बस्यौ नजर अगाडि, च्याप्छु सधैं सिरानी

फर्केर तिमीले हेर्यो , भुल्न नसक्ने भएं
सधैं तिमीलाई सम्झी , हुन्छु म पानी पानी

भूमिका खनाल (कविता)

म र रक्सी
खाएको त रक्सी मात्र हो
रक्सी र सितनसँगै
मैले आमाको सपना
श्रीमतीका रहर
सन्तानको खुशी
कत्ति बेला निल्दै गए पत्तो भएन
आफन्त सकिए
पाखो बारी सकियो
इमान इज्जत सकियो

खेमराज आचार्य (गजल)
नाता जति चिन्ने आफूलाई पर्दा न हाे
ईश्वर पुज्न थाल्नु आँसु झार्दा न हाे

सुन्नुहाेस अरूकाे गर्नुस आफ्नै पारामा
भाेलि भन्न पाइन्न उसले गर्दा न हाे

झोराहाट नाट्य समूहले पूर्वसहित विभिन्न क्षेत्रका कविहरूलाई मञ्च उपलब्ध गराउँदै आएको र अबका केही समयपछि भारतमा रहेका नेपाली भाषी साहित्यकारहरूलाई समेत झाेराहाट नाटक घरमा भव्य स्वागत गर्दै अझ दुई देशका बीचमा सेतु बनी धेरै साहित्य सम्बन्धि काम गर्ने अध्यक्ष भरत गुरागाईं बर्बरिकले जानकारी दिनुभयो ।

झाेराहाट नाटक घरले साहित्यसँगै नाट्य क्षेत्रमा समेत काम गर्दै आएको छ । मासिक साहित्यिक श्रृङखला सहित बेला-बेला नाटक मञ्चन , नाट्य लेखन र अभिनयको प्रशिक्षण समेत सञ्चालन गर्दै आएको समूहका सचिव छत्र काफ्लेले बताउनु भयो ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा सशक्त साहित्यकार खोला घरे साइलो र सभापतित्व साहित्यकार छत्र काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा सिर्जना सुन्नका लागि पूर्वका विभिन्न जिल्लाबाट साहित्यानुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम ग्रामथान गाउँपालिका वडा नं. २ स्थित झाेराहाट बजारमा रहेकाे झाेराहाट नाट्य घरमा सम्पन्न भएको हाे ।

Facebook Comments