Fri. Apr 26th, 2024

छत्रपाटी निःशुल्क चिकित्सालयको ६६ औं वार्षिकोत्सव सम्पन्न

भिओके समाचार/काठमाण्डौं, २०७९ माघ १२ गते बिहीबार । काठमाण्डौंस्थित छत्रपाटी निःशुल्क चिकित्सालयको ६६ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै काठमाण्डौं महानगरपालिकाका प्रवक्ता तथा काठमाण्डौं महानगरपालिका वडा नं.१७ का वडाअध्यक्ष नविन मानन्धरले २०१३ सालमा एउटा सानो कोठाबाट सुरु भएको छत्रपाटी अस्पताल सबैको सहयोग र समर्थनबाट सुविधा सम्पन्न अस्पतालमा रुपान्तरण भएको बताउनु भयो ।

प्रवक्ता मानन्धरले कुनै पनि असहाय व्यक्ति छत्रपाटी अस्पतालमा पुगेर उपचारविना फर्कन नपरोस भनेर निरन्तर लागिरहेको जानकारी दिनुभयो । छत्रपाटी अस्पतालले महंगो शुल्ककै कारण उपचार हुन नसक्ने परिपाटीलाई अन्त गर्ने नमूना अस्पतालको रुपमा विकास गर्ने लक्ष्य लिएको पनि प्रवक्ता मानन्धरले प्रस्ष्ट पार्नुभयो ।

छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले ६ दशकदेखि जनतालाई सर्वसुलभ रुपमा उपचार सेवा प्रदान गरिरहेको छत्रपाटी अस्पतालले स्थापना कालदेखिनै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जानकारी दिनुभयो । आधुनिक विश्व डिजिटल प्रविधिमा पुगिसकेको अवस्थामा छत्रपाटी अस्पताललाई पनि सोही अनुरुप रुपान्तरण गर्न विभिन्न कार्यहरु भैरहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । अस्पताललाई माउ बद्री भवन निर्माणमा काठमाण्डौ महानगरपालिकाले हालसम्म ५ करोड रुपैंयाँ सहयोग गरिरसकेको र छिट्टै थप ४ करोड रुपैँया सहयोग प्राप्त हुने जानकारी आफुले प्राप्त गरेको पनि अध्यक्ष श्रेष्ठले बताउनु भयो । छत्र पाटी अस्पतालमा वीर गणेशमान भवन निर्माणको लागि सांसद प्रकाशमान सिंहसँग सकारात्मक कुराकानी भएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

वार्षिकोत्सव समारोहमा छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालका आजिवन संस्थापक अध्यक्ष कम्पाउण्डर स्वर्गीय बद्रीमान मालीको पूर्णकदको प्रतिमालाई काठमाण्डौं महानगरपालिका वडा नं.१७ का वडाअध्यक्ष नविन मानन्धरले अनावरण गर्नुभयो ।

समारोहमा बद्रीमान मालीको प्रतिमा निर्माण गर्नुहुने कलाकार श्याम तुलाधर, भूपु स्टोर इन्चार्ज नन्द बहादुर श्रेष्ठ, चिकित्सकहरु रेजिना प्रधान, विणा श्रेष्ठ, राजेन्द्र मान प्रधान, सुजिता मानन्धर, अनुजराज बिजुक्छे, कर्मचारीहरु लीना शाक्य, अनिरुद्ध श्रेष्ठ, कमल बहादुर खड्का, मिनु जोशी, रिना पूजारी, सुमित्रा श्रेष्ठ, श्याम बहादुर सापकोटा, दल बहादुर कार्की लगायत अस्पतालमा १० वर्षदेखि २५ वर्षसम्म विभिन्न पदमा रहेर सेवा गर्ने चिकित्सक र कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

Facebook Comments