Sat. Apr 20th, 2024

जनकपुरधामका दुई युवकको भारतमा अपहरणपछि हत्या

जनकपुरधाम, २०७९ माघ ८ गते आईतबार । जनकपुरधामका दुई युवकको भारतमा अपहरणपछि हत्या भएको छ । १३ दिन अगाडिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी २२ वर्षीय विष्णु साहको हत्या भएको हो । मृतक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए ।

गत सोमवारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरवाट फोन आइरहेको थियो । शुरुमा २० लाख मागेका अपहरणकारीले विष्णुसँग कुरा नगराएपनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् । विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताउनु भयो ।

अपहरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको उहाँले बताउनु भयो । भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुई शव भेटेपछि आइतवार बिहान मृतक युवकका आफन्तलाई खबर गरिएपछि परिवार शोकमा डुबेको छ । विष्णु र रोहित परिवारको एक्लो छोरा थिए । क्याम्पस पढ्दै गरेका विष्णुका श्रीमती र एक छोरी छन् ।

रे न्यूज डेलीका अनुसार शव अहिले भारतको बेला परिहार पर्सास्थित प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ । मृतकका परिवारसँगै शव पहिचानका लागि घटनास्थलमा पुगेका मृतकका छिमेकीहरुले मृतकका परिवारजनले शव चिनेको र नेपाल ल्याउने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले पनि भारतमा भेटिएको शव अपहरित दुई युवकको रहेको बताउनुभएको छ ।

Facebook Comments