Thu. Apr 25th, 2024

जापानीज भाषाको पुस्तक गैरकानुनी रुपमा छापेर बिक्री गर्ने विरुद्ध अपराध महाशाखाको अभियान, एकजना पक्राउ, केही फरार

भिओके समाचार/काठमाण्डौं, २०७९ पुस २७ गते बुधबार ।  काठमाण्डौं प्रहरी परिसर टेकुले अरु प्रकाशनका पुस्तकहरु चोरी गरेर छाप्दै बिक्री वितरण गरेको आरोपमा एकजना व्यवसायीलाई पक्राउ गरेको छ ।

शनिबार साँझ अपराध महाशाखा टेकु परिसरले काठमाण्डौंको कालिकास्थानमा ल्ल्याङवेज ईन्ष्टिच्यूट चलाउँदै आएका एक व्यवसायीलाई पक्राउ गरेको हो । कालिकास्थानमा काठमाण्डौं जापानिज ल्याङवेज ईन्ष्टिच्युसन कालिकास्थानका सञ्चालक निर्मणीलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

श्रेष्ठले लामो समयदेखि जापानी भाषाका पुस्तकहरु गैरकानूनी रुपमा छपाई गरेर बिक्री वितरण गर्दै आएको बताइएको छ । जापानी भाषाको मिन्ना नो निहोङगो नामको भाषा पुस्तकका आधिकारिक बिक्रेताले काठमाण्डौं प्रहरीमा दायर गरेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरी उनलाई पक्राउ गरेको जनाएको छ ।

शनिवार पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय टेकुमा राखिएको र काठमाण्डौं जिल्ला अदालतबाट म्याद थप गराई उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले श्रेष्ठलाई एकवर्षदेखि खोजि गरिरहेको तर फरार रहँदै आएकोमा शनिवार पक्राउ परेको जनाएको छ । स्रोतका अनुसार उनी कहिले जापान त कहिले नेपाल आउजाउ गर्दै भागिरहेका थिए । प्रतिलिपी अधिकार उल्लंघन कानुन अनुसार श्रेष्ठले कसुर गरेको पुष्टि भएमा बिगो जरिवानासहित उनलाई केही महिना जेल सजाय हुन सक्छ।

श्रेष्ठले जापानी भाषाको मिन्ना नो निहोङगो नामको सबैभन्दा बढी विक्री हुने पुस्तक अनुमति नै नलिई छापेर बिक्री गर्दै आएको खुलेको छ । उनी लगायत नेपालमा धेरैले अनुमति नलिई यस्ता पुस्तकहरु प्रकाशन गर्ने गरेका छन् ।

यसैक्रममा जापानी भाषाको पुस्तक मिन्ना नो निहोङगोको नेपालमा एकमात्र आधिकारिक प्रकाशक एमआर पब्लिकेशन एण्ड डिस्ट्रिब्यूसनले प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा श्रेष्ठसहित केही अन्य प्रकाशकविरुद्ध एकवर्षअघि नै जिल्ला प्रहरी कार्यालय टेकुमा मुद्दा दायर गरेको थियो । प्रहरीले अनुसन्धानका क्रममा श्रेष्ठसहित अरु केही कन्सल्टेन्सी र प्रकाशक संस्थाहरुले यस्ता धेरै पुस्तकहरु गैरकानुनी रुपमा प्रकाशन गर्दै आएको भेटिएको जनाएको छ । यसरी बजारमा बढी बिक्री हुने पुस्तकहरुलाई विना अनुमति लुकिछिपी छापेर बिक्री वितरण गर्नेहरु धेरै रहेको प्रहरीले जनाएको छ । साथै अपराध अनुसन्धान महाशाखाले यस्ता कार्य नगर्न नगराउन सचेत गराएको छ ।

एमआर पब्लिकेशनका सञ्चालक मेघराज शाहीले आफ्नो कम्पनीले जापानको थ्री ए कर्पोरेशनबाट नेपालका लागि प्रतिलिपि अधिकार किनेर ल्याएको बताउनु भएको छ । आफूहरुले नेपाल र भारतका लागि आधिकारिक प्रतिलिपि अधिकार महंगोमा खरिद गरेर ल्याएको तर नेपालमा उक्त पुस्तक महंगोमा बिक्री हुने गरेको थाहा पाएपछि प्रहरीमा उजुरी दिएको शाहीले बताउनु भयो ।

एमआर पब्लिकेशनले २०७६ साल फागुनमा ५० हजार पुस्तक प्रकाशनमा ल्याएको थियो। शाहीले उक्त पुस्तक बजारमा कन्सल्टेन्सी, पब्लिकेशन, पुस्तक पसल र छापाखानाहरुले प्रतिलिपि अधिकार विपरित गैरकानूनी रुपमा आफूखुशी प्रकाशन गरी बिक्री वितरण गरिरहेको बताउनु भयो । उहाँले अझै धेरै मान्छेहरु यस्तो कार्यमा सम्लग्न रहेको आफूहरुसँग प्रमाणसहित सूचना आएको र त्यो सबै प्रमाणहरु प्रहरीलाई बुझाइएको जानकारी दिनुभयो । साथै उहाँले प्रहरीले त्यसमाथि गहिरो अनुसन्धान गरिरहेको पनि जानकारी दिनुभयो ।

शाहीले बजारमा रहेका नक्कली जापानिज भाषाको ९मिन्ना नो निहोङगो० पुस्तक नियन्त्रणमा लिन प्रशासनलाई अनुरोध गर्दे विद्यार्थीहरुलाई पनि नक्कली किताबहरु खरिद नगर्न आग्रह गर्नुभएको छ ।

शाहीले भन्नुभयो, ‘राज्यलाई छलेर, कर छलि गरेर केही व्यक्तिहरुले उक्त किताब प्रकाशन गरेर विक्री गरेको पाइएको छ। अझैं पनि केही व्यक्तिहरुले त्यो पुस्तक विक्रि गर्ने र विद्यार्थीलाई प्रदान गर्ने गरेको पाइन्छ। बजारमा छापा हान्ने र त्यस्ता व्यक्तिलाई कानूनअनुसार कडा कारबाही गर्ने प्रक्रियालाई निरन्तर जारी राख्ने छौं। यसमा नेपाल प्रहरीले साथ दिइरहेको छ। विद्यार्थी र जापानीज कन्सल्टेन्सीहरुले पनि साथ दिन अनुरोध गर्दछु।’

Facebook Comments