Sat. May 18th, 2024

आज पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै, देशभर सार्वजनिक विदा

भिओके समाचार/काठमाण्डौं, २०७९ पुस २७ गते बुधबार । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रमहरुको आयोजना गरी देशभर मनाइँदैछ । प्रत्येक वर्ष पुस २७ गते मनाइने यो जन्मजयन्ती २०६३ सालपछि गणतन्त्र र संघीयताको उग्र प्रचार गर्नेहरुले सत्तामा पहुँच स्थापित गरेपछि सरकारीस्तरमा मनाउन छाडिएको भए पनि विभिन्न संघ संस्थाहरुले भने यसलाई निरन्तरता दिँदै आएका थिए ।

यस वर्ष राष्ट्रनिर्माता पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । वि.सं. १७७९ साल पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । वि.सं. १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । त्यसअघि नेपाल झण्डै ५२ वटा विभिन्न राज्यमा विभाजित थियो । पृथ्वीनारायण शाह राजा भएपछि उहाँले नेपालको सीमाना पूर्वमा टिस्टा नदीदेखि पश्चिममा चेपे नदीसम्म विस्तार गर्न सफल हुनुभएको थियो ।

पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीहरुले पश्चिममा नेपालको किल्ला काँगडासम्म विस्तार गरेको गरेका थिए । पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाण्डौं उपत्यका विजय हासिल गर्नुभएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी, विजयपुर जस्ता राज्यहरुलाई पराजित गर्दै देशको सीमाना बढाउनुभएको थियो ।

नेपाललाई सबै जातको सुन्दर फूलवारीको उपमा दिनु भएका पृथ्वीनारायण शाहले सबै जातजाति, भाषाभाषीहरुको सहयोग लिएर नेपाल एकीकरणको सुभारम्भ गर्नुभएकोे थियो । उहाँको सोही योगदानको सम्झनामा गर्दै आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

Facebook Comments