Thu. Jun 27th, 2024

नेपाली सेनाको एकीकरण टर्च र्‍याली काठमाडौं आइपुग्यो

काठमाण्डौं, २०७९ पुस २६ गते मंगलबार । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज काठमाडौं आइपुगेको छ ।

गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज विहान ९ बजे काठमाडौं आइपुगेको हो । गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्‍याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौं आइपुगेको हो । काठमाडौं आउने क्रममा तारकेश्वर वडा नं ३ ले पाँचमानेमा उक्त टोलीलाई बाजागाजासहित फूलमालाले स्वागत गरेको वडा अध्यक्ष पर्शुराम अर्यालले जानकारी दिनुभयो ।

काठमाडौं आइपुगेको उक्त र्‍याली आज हनुमानढोकामा पुग्ने नेपाली सेनाका कालीध्वज गण नागार्जुनका सेनानी सागर थापाले बताउनुभयो ।

र्‍यालीमा सहभागी सैनिकहरु पृथ्वीनारायण शाहको समयमा उहाँको फौजले प्रयोग गरेको जस्तै पोषाक र हतियारमा सजिएका छन् । सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा यही पुस २७ मा विशेष कार्यक्रम गरेर र्‍यालीको समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ । रासस

Facebook Comments