Sun. Oct 6th, 2024

बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेल   

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा सोमबार नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेललाई नियुक्ति पत्र प्रदान गर्नुहुँदै । तस्बिरः अञ्जली थापा, रासस

हेटौँडा, २०७९ पुस २५ गते सोमबार । बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त हुनुभएको छ ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम जमकट्टेललाई बहुमतसहितको समर्थन प्राप्त भएकाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

जमकट्टेललाई गठबन्धन दलसहितका ७० जना प्रदेशसभा सांसदको समर्थन प्राप्त भएको छ । उहाँलाई मुख्यमन्त्रीमा नियुक्तका लागि नेकपा एमालेका २७, नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी)का सात र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्यले प्रदेश प्रमुखसमक्ष हस्ताक्षर बुझाएका थिए ।

हाल बागमती प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसहित एक सय १० जना प्रदेशसभा सदस्य हुनुहुन्छ ।

गत मङ्सिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा ५१ वर्षीय जमकट्टेल धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ बाट निर्वाचित हुनुभएको थियो । वि.सं. २०३० मा धादिङको किरानचोक गाविसमा जन्मिनुभएका जम्मकट्टेलले २०४४ साला अखिल छैटौँमा आबद्ध भएर राजनीतिक यात्रा सुरूआत गर्नुभएको हो । वि.सं. २०४८ देखि मजदुर आन्दोलनमा सक्रिय उहाँ माओवादीले सञ्चालन गरेको सशस्त्रद्वन्द्वमा सुरुआतदेखि आबद्ध हुनुहुन्थ्यो ।

वि.सं. २०६० देखि एक दशकसम्म माओवादीको मजदुर सङ्गठनको नेतृत्व सम्हाल्नुभएका जमकट्टेल २०६३ को अन्तरिम संसद् र २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको थियो ।

वि.सं. २०७४ मा भएको प्रदेशसभाको निर्वाचनमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री र पाँचदलीय गठबन्धनको राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा पनि आर्थिक मामिलामन्त्री हुनुहुन्थ्यो ।

बागमती प्रदेशमा मुख्यमन्त्रीका रुपमा पहिलो कार्यकालमा डोरमणि पौडेल, दोस्रो कार्यकालमा अष्टलक्ष्मी शाक्य र निवर्तमान मुख्यमन्त्रीका रुपमा राजेन्द्रप्रसाद पाण्डे हुनुहुन्थ्यो ।

Facebook Comments