Mon. Dec 23rd, 2024

नवनियुक्त चिनियाँ राजदूत छन सोङ काठमाण्डौंमा

काठमाण्डौ, २०७९ पुस २४ गते आईतबार । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ काठमाडौं आइपुग्नुभएको छ । कार्यभार सम्हाल्न आज काठमाडौं आइपुग्नु भएका राजदूत छन सोङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासका प्रतिनिधिले स्वागत गरेका थिए ।

चिनियाँ राजदूतावासका अनुसार नव नियुक्त राजदूत छन सोङले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुराकानी गर्नुहुँदै हिमाल र नदीहरुले जोडिएको चीन र नेपालबीचको मित्रता चिरकालीन रहेको बताउनु भयो । सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै चीन र नेपालले सधैं एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएको पनि राजदूत छन सोङले उल्लेख गर्नुभयो ।

चीनका राष्ट्राध्यक्ष सि चिनफिङले सन् २०१९ मा गर्नुभएको नेपालको ऐतिहासिक राजकीय भ्रमणको स्मरण गर्नुहुँदै चिनियाँ राजदूत छन सोङले सो भ्रमणमा दुई देशका राष्ट्र प्रमुखले विकास र समृद्धिका लागि सदा चिरस्थायी मित्रतासहितको सहकार्यको रणनीतिक साझेदारी निर्माण गर्न सहमती जनाएको समेत स्मरण गर्नुभयो । उहाँले चिनियाँ राजदूतको रुपमा आफूले ठूलो जिम्मेवारी लिएर आएको भन्दै राष्ट्राध्यक्ष सि चिनफिङ र नेपाली नेताहरुबीच भएका महत्वपूर्ण सहमतिलाई पालना गर्न समर्पित रहने पनि बताउनु भयो ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीन सरकारले छन सोङलाई नयाँ राजदूतका रुपमा नियुक्त गरेको थियो । राजदूत छन सोङ नेपालका लागि चीनका २२औं राजदूत हुनुहुन्छ ।

Facebook Comments