Wed. May 8th, 2024

प्रदेश नं १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त   

प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले नेकपा एमाले प्रदेश नं १ संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार साँझ प्रदेश प्रमुखको कार्यालय विराटनगरमा मुख्यमन्त्रीमा नियुक्तिको पत्र दिँदै । तस्बिर : मनोज दाहाल, रासस

मोरङ, २०७९ पुस २४ गते आईतबार । नेकपा (एमाले) प्रदेश नं १ संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्गलाई नेकपा एमाले प्रदेश नं १ संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार प्रदेश प्रमुखको कार्यालय विराटनगरमा बहुमती प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नियुक्तिका लागि पत्र हस्तान्तरण गर्दै । पत्रमा नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका छ र जनता समाजवादी पार्टीका एक जना सदस्यहरुको हस्ताक्षर रहेको छ । तस्बिर : मनोज दाहाल, रासस

प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज साँझ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त गर्नुभएको हो । यसअघि प्रदेश प्रमुख खापुङसमक्ष एमाले संसदीय दलका नेता कार्कीले प्रदेश १ प्रदेशसभाको कूल सङ्ख्याको बहुमत सङ्ख्याको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नियुक्तिका लागि पत्र बुझाउनुभएको थियो ।

एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ र जनता समाजवादी पार्टी (जसपा) का १ गरी ६०  जना सदस्यको हस्ताक्षरको पत्र बुझाइएको छ । प्रदेश प्रमुख खापुङलाई एमाले संसदीय दलका नेता कार्की, माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्गवो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जसपाका निर्मला लिम्बूको हस्ताक्षरसहित उक्त पत्र बुझाइएको थियो ।

प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीलाई भोलि पुस २५ सोमबार दिउँसो २ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको राससले जनाएको छ ।

Facebook Comments