Thu. May 16th, 2024

महानगरप्रमुखद्वारा आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट   

काठमाण्डौं, २०७९ पुस १९ गते मंगलबार । काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधिलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ ।

प्रमुख शाह सर्वोच्च अदालतमा आफै उपस्थित भएर उक्त रिट निवेदन दायर गर्नुभएको हो । स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गर्दै आयोगले प्रमुख शाहसहित अन्य उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध शाहले आज रिट निवेदन दायर गर्नुभएको हो ।

रिट निवेदनमा कानुनले तोकेको अवधिभित्रै गत असार १२ गते निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको र परिणाम घोषणा भएको मितिले ३० दिनभित्र खर्चको विवरण पेश गर्नुपर्नेमा ३०औँ दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट पेश गरेको उल्लेख छ । शाहले आफूले समयमै निर्वाचन खर्च विवरण बुझाउँदा पनि रु सात लाख ५० हजार जरिवाना तिर्न लगाउने, स्थानीय निर्वाचनमा भाग लिने देशभरका एक लाख २३ हजार उम्मेदवारलाई एकमुष्ट जरिवाना गर्ने, छ महिनाभित्र नबुझाए छ वर्षसम्म कुनै निर्वाचनमा भाग लिन नपाउने र निर्वाचित भए पदमुक्त हुने भनी आयोगको गरेको निर्णय बदर गर्न रिट निवेदनमा माग गर्नुभएको छ । रासस

Facebook Comments