Thu. May 2nd, 2024

नेपाली कागज : बजारमा माग धेरै, उत्पादन कम

गोरखा, २०७९ पुस १७ गते आईतबार । गोरखामा नेपाली कागजको उत्पादन कम हुन थालेको छ । आवश्यक मात्रामा कच्चा पर्दाथको अभाव भएकोे कारण नेपाली कागजको उत्पादन कम हुन थालेको हो ।

उत्पादनमा कमि आएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा-६ स्थित नयाँबजारमा सञ्चालित गोरखा मनकामना हाते कागज उद्योेगमा कच्चा पर्दाथको कमिका कारण उत्पादन घटेको हो । कागज उत्पादनकालागि आवश्यक पर्ने लोक्ता आवश्यकता अनुसार आयात गर्न नसकेको उद्योगका सञ्चालक पासाङनिमा शेर्पाले बताउनुभयो । “जङ्गलमा त खोजेजति लोक्ता पाइन्छ”, उहाँले भन्नुभयो, “तर जङ्गलमा गएर झिक्ने, सुकाउने र यहाँसम्म ल्याउने मान्छे नै पाउन गाह्रो छ ।”

शेर्पाले घरेलु कार्यालयमा उद्योग दर्ता गरी नेपाली कागज उत्पादन गर्न थालेको झन्डै पाँच वर्ष भैसकेको छ । बजारमा कागज बिक्रिमा कुनै समस्या नभएको तर कच्चा पदार्थको कमिका कारण उत्पादनमा समस्या आउने गरेको शेर्पाको भनाइ छ । उद्योगले उत्पादन गरेको कागज काठमाडौंमा बिक्रि हुने गरको उहाँले बताउनुभयो । उद्योगबाट उत्पादित कागज विशेषगरी सरकारी कामकाजका लागि प्रयोग हुने गरेको भएतापनि डायरी बनाउने, धुप बनाउने, जस्ता कार्यमापनि प्रयोग हुने उहाँको भनाइ छ । रासस

Facebook Comments