Fri. Apr 26th, 2024

भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानको माग

बेलहिया (रुपन्देही), २०७९ पुस १७ गते आईतबार । नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट(नाट्टा) लुम्बिनी प्रदेशले राष्ट्रिय टोपी दिवसको अवसरमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गरेको छ ।

नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तको अगुवाइमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा त्यहाँ कार्यरत कर्मचारीलाई नेपाली ढाका टोपी लगाइदिएर उडान नियमित गर्न सबैलाई सहकार्यको लागि आह्वान गरिएको थियो ।

कर्मचारीलाई टोपी लगाउँदै अध्यक्ष पन्तले भन्नुभयो, “जसरी शिरको शान ढाका टोपी रहेको छ, त्यसैगरी लुम्बिनी प्रदेशवासी र नेपालका सबै पर्यटन व्यवसायीका लागि गौतमबुद्ध विमानस्थल शान र मान हो”, उहाँले भन्नुभयो, “यसको गरिमा बढाउने भनेको यहाँबाट अन्तर्राष्ट्रिय जहाजको उडान निरन्तरताको लागि कर्मचारीको पनि सक्रियता र सकारात्मक सहयोग जरुरी छ ।”
कार्यक्रममा पर्यटन व्यवसायी सागर अधिकारीले कुनै पनि बहानामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कटौती गर्न नहुने बताउँदै कटौती गरेमा सबै लुम्बिनीवासीले आन्दोलन गर्ने चेतावनीसमेत दिनुभयो ।

पर्यटन व्यवसायी तथा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष विष्णुप्रसाद शर्माले ४० अर्ब भन्दा बढी लगानी विमानस्थलमा भएको र सय अर्ब भन्दा बढी निजी क्षेत्रको लगानी भैरहवा आसपासमा भइरहेको बताउनुभयो ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सात महिनाको अवधिमा ३१ हजार छ सय १८ यात्रुले सेवा लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी गराउनुभएको छ ।

गत जेठ २ गते देखि पुस ३ गते सम्म सात महिनाको अवधिमा एक सय ५४ वटा उडान र अवतरण भएको उहाँले जानकारी दिनुभयो । यतिबेला अल जजिरा एअरलायन्सले उडान कटौती गरेको छ । हिमालय एअरलायन्सले पनि उडान रोकेको छ । अर्कोतिर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिविलिटी कम हुँदा आन्तरिक उडानसमेत प्रभावित हँुदै आएको छ । यद्यपि यो समस्यालाई निराकर गर्ने गरी अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रमेट ल्याण्डिङ सिस्टम (आइएलएस) जोडिएको भए तापनि उक्त उपकरण सञ्चालन नहुँदा समस्या सिर्जना भएको छ ।

पर्यटन व्यवसायीले आइएलएस तत्काल सञ्चालन गर्न माग गरेका छन् । उडानका लागि कम्तीमा एक हजार पाँच सयको हाराहारीमा भिजिविलिटी आवश्यक पर्छ तर यतिबेला चार/पाँच सयको हाराहारीमा भिजिबिलिटी पुग्दा बेला बेला उडान प्रभावित हुने गरेको छ । रासस

Facebook Comments