Mon. Apr 29th, 2024

कविशिरोमणि लेखनाथ पौड्यालको १३९ औँ जयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइयो

काठमाण्डौं, २०७९ पुस १५ गते शुक्रबार । कविशिरोमणि लेखनाथ पौड्यालको १ सय ३९ औँ जन्म जयन्ती विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ ।

कविशिरोमणि लेखनाथ पौडयालको जन्म बाबु दुर्गादत्त र आमा वसुन्धरा पौड्यालको जेठा छोराको रूपमा १९४१ साल पुस १५ गते कास्कीको अर्घाै‌अर्चलेमा भएको थियो । २००८ साल असार २९ गते पौड्याललाई राजा त्रिभुवनद्वारा कविशिरोमणिको पदवी र मासिक २ सय रुपियाँ आजीवन भत्ता प्रदान गरिएको थियो । लेखनाथ पौडयाल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा २००९ सालमा दार्जीलिङ जाँदा त्यहाँका त्रिरत्न सूधपा अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणि प्रधानद्वारा पौड्याल, सम र देवकोटालाई त्रिमूर्तिको पदवीले सम्मान गरिएको थियो ।
कास्कीको अघौं अर्चलेस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर । उहाँ जन्मेको पुरानो घरलाई संरक्षण गरेर राखिएको छ । तस्बिरः ऋषिराम बराल, रासस
२०११ सालमा पौडयालकै शुभजन्मोत्सवको उपलक्ष्यमा काठमाडौ‌मा पौड्यालको रथयात्रा गरिएको थियो । गोपाल पाण्डे असीमको अग्रसरतामा देवकोटा र सम समेत भएर पौडयाललाई रथारोहण गराइएको थियो ।
पौड्यालका ऋतु विचार खण्डकाव्य, वुद्धिविनोद कविताकृति, सत्यकलि संवाद कविताकृति, सत्यस्मृति, मेरो राम, त्याग र उदयको सन्देश, गीताञ्जली कविताकृति, तरुण तपसी नव्यकाव्य जस्ता विख्यात कृतिहरु रहेका छन् । ती कृतिहरू नेपाली आधुनिक भाषासाहित्यका अनुपम नमुना मानिन्छन् । साहित्यप्रतिको कदरस्वरूप पौड्याललाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार प्रदान गरिएको थियो ।
२०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्यालको देहावसान भएको थियो ।
Facebook Comments