Sat. May 4th, 2024

सरकारमा सहभागी हुने राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्णय

काठमाण्डौं, २०७९ पुस १४ गते बिहीबार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नयाँ सरकारमा सहभागी हुने निर्णय गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा हिजो बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी भएर हिन्दू राष्ट्रलगायतका आफ्ना मुद्दा स्थापित गर्न भूमिका निर्वाह गर्ने निर्णय गरेको हो ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सरकारमा सहभागी राजनीतिक दलका न्यूनतम साझा कार्यक्रमको अध्ययन गरेपछि मात्र पार्टी सरकारमा सहभागी हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले पछिल्लो परिस्थितिमा विकास भएको राजनीतिक अवस्थामा पार्टी सरकारमा सहभागी हुने वा नहुने, पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण, राजनीतिक आदर्श तथा राजनीतिक विषयवस्तुलाई स्थापित गर्न निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गरिएको भए पनि अधिकांश नेताले सरकारमा सहभागी हुनुपर्ने सुझाव दिएपछि सरकारमा जाने निर्णय गरेको हो । संसदमा राप्रपा का १४ जना सांसदहरु रहेका छन् ।

Facebook Comments