Sun. Apr 28th, 2024

नेपालबाट सामान जान थालेपछि चीनमा खुसियाली

काठमाण्डौं, २०७९ पुस १३ गते बुधबार । नेपालको रसुवागढी नाकाबाट चीनतर्फ सामान जान थालेपछि दुवै मुलुकमा खुसीयाली छाएको छ ।  चीनले रसुवागढी नाकाबाट ३१ महिनापछि हिजो केही ट्रक नेपाली सामान भित्र्याएको थियो । नेपालबाट चीनतर्फ मंगलबार भन्सार पास भएर सुख्खा बन्दगाह हुँदै गएका ६ वटा ट्रकलाई बुधबार केरुङमा भव्य कार्यक्रम गरेर चीनले आफ्नो मुलुकमा स्वागत गरेको छ ।

कोभिड महाहारीपछि लामो समय नेपाल चीन नाकामा अवरोध देखिएको थियो । नेपालको आग्रहमा चीनले आफ्नोतर्फबाट वस्तु आयातका लागि कोटा तोकेर एकतर्फी रुपमा नाका सञ्चालनमा ल्याए पनि नेपालबाट हुने निर्यात भने ठप्प थियो ।

केही दिनअघि छोटो सूचना पठाएर चीनले नेपालको रसुवागढी नाकाबाट नेपाल वस्तु आयात गर्न दिने बताएपछि मंगलबार नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको ६ ट्रक नेपाली सामान चीनतर्फ निर्यात गरिएको थियो ।

कोरोना महामारी सुरु भएदेखि बन्द रहेको चीनतर्फको निर्यात व्यापार मंगलवारदेखि सुरु भएको र अब यसले नियमितता पाउने रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले रे समाचारलाई जानकारी दिनुभयो । प्रमुख भन्सार अधिकृत भण्डारीका अनुसार मंगलवार नेपालबाट बाँसका मुढा, तामाका भाँडा लगायतका वस्तु चीनतर्फ निर्यात भएका छन् ।

यसैबीच नेपालस्थित चिनियाँ दूतावासले बुधवार एक विज्ञप्ति जारी गरी केरुङ/सुवागढी नाकाबाट हुने दुईतर्फी व्यापार सुचारु भएकोमा खुसी व्यक्त गरेको छ । ‘नेपाली सामान भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका छन् । चीन नेपालको थप सामान निर्यातको प्रतीक्षामा चीन छ ।’ चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments