Thu. May 2nd, 2024

बालकोटमा माओवादी अध्यक्ष नेतृत्वमा सरकार गठन गर्ने सहमति

भक्तपुर, २०७९ पुस १० गते आईतबार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको राजनीतिक दलहरूको बैठकले सो निर्णय गरेको हो ।

 

बैठकमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहित विभिन्न सात दलका नेताको बैठकले सरकार गठन गर्नेबारे सहमति गरेको हो । बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै एमालेका महासचिव शङ्कर पोखरेलले बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले बैठक सम्पन्न भएको छ, प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । कूल सङ्ख्या एक सय ६६ मतको समर्थनमा सरकारका गठनका लागि राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्न केपी ओली, प्रचण्डलगायतका हामी शीतल निवास जाँदैछौँ ।” प्रधानमन्त्रीका लागि आजै दाबी पेश गर्ने जानकारी राष्ट्रपति कार्यालयमा दिएर नेताहरू शीतल निवास गएको बताइएका छन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको दाबी पेश गर्न आउँदै छौँ भन्ने जानकारी राष्ट्रपति कार्यालयमा दिइसकेका उहाँले जानकारी दिनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, “राष्ट्रपतिले दिएको समयमा सरकार गठन नहुँदा जनादेशभन्दा विपरीत हुने ठहर हो । त्यसैअनुरुप देशको पहिलो दल कांग्रेसले सरकार बनाउन नसक्ने भएपछि दोस्रो ठूलो दलको रुपमा एमालेले सरकार गठन गराउनुपर्ने बाध्यता आइपरेको छ, त्यसका लागि दलहरूबीच छलफल गरेर सहमति बनाएका छौँ ।”

उहाँले कुन दलले के लिने भनेर ‘पावर शेयरिङ’को बारेमा भने सरकार गठनपछि छलफल बताउनुभयो । दाहाललाई एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, जनमतको छ र नागरिक उन्मुक्तिको चार गरेर एक सय ६६ सांसदको समर्थन रहनेसमेत उहाँको भनाइ छ ।

दलहरूबीचको सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सहमतिअनुसार सरकारको नेतृत्व माओवादी अध्यक्ष दाहालले गर्ने र राष्ट्रपति एमालेले लिने भएको छ । सहमतिको पहिलो चरणमा दाहालले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि बाँकी समय एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

बैठकमा सरकारको नेतृत्व दाहालले गरेसँगै राष्ट्रपति र सभामुख एमालेले पाउने गरी सहमति जुटेको ओलीको सचिवालयले जानकारी दिएको छ । सरकारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी सहभागी हुने गरी छलफल भएको थियो ।

बालकोटमा माओवादी केन्द्रका अध्यक्ष दाहाल पुग्नु अगावै एमालेका अध्यक्ष ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईबीच छलफल भएको थियो । त्यसपछि बालकोट पुग्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल र एमाले अध्यक्ष ओलीबीच भेटघाट गरी सरकार गठनबारे छलफल भएको थियो ।

बैठकमा अध्यक्ष ओली र महासचिव शङ्कर पोखरेलसहितका नेता, माओवादी केन्द्रका अध्यक्ष दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

प्रतिनिधिसभामा कुनै पनि दलले बहुमत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीको दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिनुभएको थियो ।

Facebook Comments