Wed. Dec 25th, 2024

निर्वाचन आयोगद्वारा निर्वाचन नतिजा प्रकाशन   

- प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० सदस्य निर्वाचित

मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पूर्ण नतिजाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा धारणा राख्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । साथमा अन्य आयुक्तहरु । तस्बिर : प्रदीपराज वन्त, रासस

काठमाण्डौं, २०७९ मंसिर २८ गते बुधबार । निवार्चन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को अन्तिम नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ ।

आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको नजिता आज यहाँ सार्वजानिक गरेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० गरी कुल ८२५ जना सदस्य निर्वाचित भएका छन् । बुधबार पत्रकार सम्मेलनमार्फत आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो कुराको जानकारी दिनुभएको हो ।

जसअन्तर्गत प्रतिनिधिसभातर्फ पुरुष १८४ जना (६६.९० प्रतिशत) र महिला ९१ जना (३३.१० प्रतिशत) निर्वाचित हुनुभएको छ भने प्रदेशसभातर्फ पुरुष ३५० जना (६३.६४ प्रतिशत) र महिला दुई सय जना (३६.३६ प्रतिशत) निर्वाचित हुनुभएको छ ।

प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएको जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिला २२५ र पुरुष दुई हजार १८६ गरी दुई हजार ४११ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला एक हजार १८७ र पुरुष एक हजार १२ गरी दुई हजार १९९ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।

यसैगरी, प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि महिला २८०, पुरुष दुई ९४३ र अन्य एक गरी तीन हजार २२४ जनाको अन्तिम उम्मेदवारी कायम गरिएको थियो । सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला एक हजार ५११ र पुरुष दुई हजार १९७ गरी कुल तीन हजार ७०८ गरी अन्तिम उम्मेदवारको बन्द सूची कायम गरिएको आयोगले जनाएको छ ।

यसअनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ र समानुपातिक प्रणालीका लागि कुल उम्मेदवारको सङ्ख्या जम्मा ११ हजार ५४२ रहेको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि महिला ८८ लाख ४७ हजार ५७९, पुरुष ९१ लाख ४० हजार ८०६ र अन्य १८५ गरी कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम रहेका थिए ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिहरूमध्येबाट मतदाता नामावली ऐन २०७३ को दफा ३० बमोजिम तयार गरिएको अस्थायी मतदाता नामावलीमा चार लाख ५० हजार मतदाता रहेका थिए ।

देशभर सम्पूर्ण मतदाताको सहजतालाई मध्यनजर गरी यस निर्वाचनमा १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको थियो । त्यसैगरी, अस्थायी मतदाताहरूलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने व्यवस्था अनुरुप १४१ अस्थायी मतदान स्थलहरूको समेत व्यवस्था गरिएको थियो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा एक करोड १० लाख ४७ हजार ३४ (६१.४१ प्रतिशत) मतदान भएको थियो जसमध्ये एक करोड चार लाख ८७ हजार ९५८ मत सदर भएको थियो भने ५.०६ प्रतिशत मत बदर भएको थियो ।

सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख २६ हजार २२६ (६१.८५ प्रतिशत) मतदान भएकोमा एक करोड पाँच लाख ६० हजार ८२ मत सदर भई ५.०९ प्रतिशत मत बदर भएको थियो ।

प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एक करोड १० लाख ३४ हजार ५०० (६१.३६ प्रतिशत) मतदान भएको थियो जसमध्ये एक करोड पाँच लाख ८५ हजार ३०० मत सदर भएको थियो भने ४.०७ प्रतिशत मत बदर भएको थियो । सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १० लाख २८ हजार ३७६ (६१.३१ प्रतिशत) मतदान भएकोमा एक करोड तीन लाख छ हजार ११ मत सदर भई ६.५५ प्रतिशत मत बदर भएको थियो । सो नतिजाको प्रतिवेदन विहीबार राष्ट्रपति समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।  गोरखापत्र अनलाईन  

press 2079.08.28

Facebook Comments